
क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरमा भोलिबाट सुरु हुने हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रमको आज (विहिबार) उद्घाटन् गरिएको छ ।
नगर प्रमुख दिलीपकुमार राईले औषधि सेवन गरेर नगरपालिका कार्यालयमा कार्यक्रमको उद्घाटन गर्नुभएको छ । भोलि चैत २० देखि २७ गतेसम्म स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकाले घर घरमा पुगेर औषधि सेवन गराउने कार्यक्रम रहेको प्रष्ट्याउदै उहाँले नगरवासीलाई औषधि सेवनको आव्हान समेत गर्नुभएको छ ।
गर्भवती, ७ दिनसम्मको सुत्केरी, जटिल रोगी र ओछ्यान परेका विरामी, २४ घण्टाभित्र ज्वरो आएका व्यक्ति, २ वर्ष मुनीका बालबालिकाले बाहेक अन्य सवैले औषधि सेवन गर्न हुने जनाइएको छ । नगरले गत वर्ष ५७ हजार ६ सय ३६ जनालाई औषधि सेवन गराएर लक्ष्यको ९१ प्रतिशत सफलता हासिल गरेको थियो । औषधि सेवन गर्न नहुने समूह छुट्याएर यस वर्ष ६१ हजार ७ सय ३६ जनालाई औषधि सेवनको लक्ष्य बनाइएको छ ।
सेवन गर्न नहुनेमा २ वर्षमुनीका २ हजार ७ सय १३, गर्भवती १ हजार ७ सय ५७, सुत्केरी १ हजार ४ सय ९० र जटिल तथा सिकिस्त विरामी २ हजार १ सय ६९ जना रहेका छन् ।

