मन्त्री ढकालद्वारा बखानसिंह गुरुङको अर्धकदको प्रतिमा अनावरण - Crazysaptahik.com

मन्त्री ढकालद्वारा बखानसिंह गुरुङको अर्धकदको प्रतिमा अनावरण

क्रेजी संवाददाता
पथरी । संघीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले अब पनि कुनै पक्षबाट सरकार ढाल्ने चलखेल भयो भनें मुलुक तुरुन्त निर्वाचनमा जाने बताउनुभएको छ ।

मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का सांसद समेत रहनुभएका ढकालले आज आफ्नो निर्वाचन क्षेत्रको पथरी शनिश्चरेमा आयोजित ६४ औं राष्ट्रिय सहकारी दिवशको कार्यक्रममा बोल्दै सो कुरा बताउनुभएको हो ।

जिल्ला सहकारी संघको अगुवाईमा बनेको सहकारी दिवसको मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा मन्तव्यका क्रममा मन्त्री ढकाललले अर्काे आवधिक निर्वाचन नहुन्जेलसम्मका एमालेको नेतृत्वको सरकारले नीति कार्यक्रम सञ्चालन गरिरहने कुरामा भ्रम पालिरहनु जरुरी नभएको जनाउनुभयो ।

उहाँले सहकारी कर्मचारी संगठन पथरी शनिश्चरेको अगुवाईमा मनकामना सामुदायिक वन क्षेत्रभित्र निर्माण भएको २०१३ सालमा नेपालमा पहिलो सहकारी स्थापना गर्ने चितवनको बखान ऋण सहकारी समितिका उत्प्रेरक बखानसिंह गुरुङको अर्धकदको प्रतिमा अनावरण समेत गर्नुभयो । नगरपालिकाको ३ लाख ५० हजार सहित ४ लाखको लागतमा नेपालमै पहिलो पटक उनको शालिक र पार्कस्थल निर्माण गरिएको हो ।

१ नम्बर प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, प्रदेशका कृषि तथा सहकारी मन्त्री रामबहादुर मगर, उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझा, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री कला घलेले सहकारी व्यवसायिक बन्दै उद्योग खडा गर्दै जिम्मेवारी ग्रहण गरेर थप जवाफदेही समेत बन्दै जानुपर्ने धारणा राख्नुभयो । सो अवसरमा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेल, पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राईले पनि मन्तव्य व्यक्त गर्नुभयो ।

कार्यक्रममा, सहकारी अभियन्ता उर्लाबारीका मुक्ति बराल, लेटाङका चन्द्रप्रसाद गौतम र सहकारी कर्मचारी संगठन पथरीशनिश्चरेलाई सम्मानपत्रले सम्मानित गरिएको छ । साताव्यापी कार्यक्रम अन्तर्गतका प्रतियोगिताका पुरस्कृतलाई पुरस्कार समेत प्रदान गरिएको छ ।

मूल समारोह समितिका संयोजक डिल्ली पोखरेलको संयोजकत्वमा २ सय ५१ सदस्यीय मुल समारोह समिति तथा उपसमितिहरु गठन गरी चैत १४ देखि सप्ताहव्यापी कार्यक्रम गरिएको थियो ।

सम्बन्धित खवर