आर्मी टिम च्याम्पियन - Crazysaptahik.com

आर्मी टिम च्याम्पियन

नेपाल आर्मी वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । आर्मीले ६ स्वर्ण, ३ रजत र ६ कास्य जित्यो । नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग र ललितपुर जिल्ला किक बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा ५ स्वर्ण जितेको एपीएफ दोश्रो भयो ।

तेश्रो स्थानमा चित्त बुझाएको रेज फिट्नेसले १ स्वर्ण र १ कांस्य हात । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार हात पारे । ललितपुरको चापागाउँस्थित प्याङगाउँमा भएको प्रतियोगिताको पुरुषमा एपीएफका रोशन अछामी र महिलामा रेजकी तेजी गुरुङ उत्कृष्ट खेलाडी घोषित भए ।

दुवैले जनही २५ हजार नगद पुरस्कार पाए । पुरुष ६० केजीमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुका रजत विजेता एपीएफका मंगलप्रसाद थारु, खुला तौलसमूहमा एपीएफका सन्जिव महर्जन, ७५ केजीमा आर्मीका दलबहादुर घले, ६५ केजीमा आर्मीका राजेश चौधरी, ५५ केजीमा एपीएफका तीर्थराज थापा, ७० केजीमा आर्मीका सन्नी सुनार र ५० केजीमा एपीएफका रोशन अछामीले स्वर्ण जिते ।

महिला ६० केजीमा एपीएफकी निशा विक, ६५ केजीमा आर्मीकी मन्जु विक, खुला तौलसमूहमा आर्मीकी विन्दु पुन मगर, ५० केजीमा रेजकी तेजी गुरुङ र ५५ केजीमा आर्मीकी मनीषा प्रधानले पहिलो स्थान हात पारे । प्रत्येक स्पर्धामा पहिलो हुनेले ३० हजार, दोश्रोले १५ हजार र तेश्रोले समान ८–८ हजार नगद पुरस्कार हात पारे ।

विजेतालाई नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री पूर्णबहादुर खड्कालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगिताको पुरुषमा ७ र महिलामा ५ गरी १२ स्पर्धामा प्रतिस्पर्धा भएको आयोजक विभागका सचिव एवं प्रतियोगिता संयोजक मिनकृष्ण महर्जनले जनाएका छन् । कार्यक्रममा राखेपका सदस्य–सचिवका स्वकीय सचिव मनोज खड्गीलाई सम्मान गरिएको थियो ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.