क्रेजी संवाददाता
उर्लाबारी । उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले सरकारी गाडी फिर्ता गर्नुका साथै कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेका छन् ।
शनिबार उर्लाबारी पार्टी प्यालेसमा पत्रकार सम्मेलनको आयोजना गरी आफूले चढ्दै आएको को १ झ ५७० नम्बरको गाडी नगरपालिकालाई फिर्ता गरेको जानकारी दिए । चुनाव आउन लागेर भन्दा पनि कार्यपालिका बैठकबाट विकास योजना अघि बढाउन नसकेकोले नैतिक रुपमा अप्ठ्यारो परेको भन्दै गाडी फिर्ता गरेको उनले बताए ।
गत चैत १६ गते उर्लाबारी नगरपालिका कार्यपालिकाको बैठक बसे पनि बैठकमा प्रस्तुत भएका प्रस्ताव अघि बढाउन नेकपा एमाले बाट निर्वाचित उपमेयर लक्ष्मीदेवी भण्डारी सहित बहुमतप्राप्त कार्यपालिका सदस्यहरु नमानेपछि निणर्य हुन सकेन ।
‘विभिन्न कार्यविधि निर्माणका साथै प्रत्येक वडामा तीस लाखका दरले सडक कालोपत्रे साथै अन्य विविध गरी ६ करोड ३७ लाखको सञ्चित कोषको बजेटबाट विकासलाई अघि बढाउन खोजेका थियौं’ मेयर फागोले भने, ‘कार्यपालिकामा बहुमत रहेका नेकपा एमालेका साथीहरुले निर्णय गर्न नदिएपछि विकास रोकिएको छ । यस्तो अवस्थामा सरकारी गाडी चढेर हिँड्नु उपयुक्त नहुने ठानेर गाडी फिर्ता गरेको हुँ ।’
उनले कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरुलाई पनि मोटरसाइकल फिर्ता गर्न आग्रह गरे । एमालेको अवरोधका कारण जनताको काम गर्न नसकेकोमा दुःख व्यक्त गर्दै फागोले चैत महिनादेखि आफूले सेवा सुविधा नलिने बताए । पत्रकार सम्मेलनको अन्तिम समयमा मेयर फागोले भने–‘मैले नगरपालिकामा भ्यूटावरहरु निर्माण गर्न र उद्घाटन गर्न सकिन होला, तर खान नपाउनेहरुलाई रोजगारको अवसर सृजना गरेको छु ।’
उपप्रमुख लक्ष्मीदेवी भण्डारीले आफूमाथि मिथ्या आरोप लगाएको बताउँदै उनले उक्त अरोपको खण्डन गरे । जनप्रतिनिधि आएपछि २५ कार्यविधि, १८ वटा ऐन, ६ वटा नियमावली, ४ वटा निर्देशिका र १ वटा आचारसंहिता बनाएको बताउँदै उनले थप कार्यविधि बनाउन खोज्दा एमालेका जनप्रतिनिधिले रोकेको बताए ।
यसैगरी नगरपालिकाको खर्चमा मेयरले मुद्दा लडेको भन्ने उपप्रमुखको आरोपको विषयमा फागोले भने, ‘पाँच वर्षको कार्यकालमा ३६ वटा मुद्दा परेको छ । प्रायः मुद्दामा नगरपालिका प्रतिवादी छ । केहीमा वडाध्यक्ष प्रतिवादी छन् । ती सबै मुद्दा लड्दा नगरपालिकाको कोषबाट १ लाख ७० हजार रुपैयाँ खर्च भएको छ ।’
उपप्रमुख सहित बहुमत कार्यपालिका सदस्यले अन्तिम कार्यपालिका बैठकले पास गर्ने ऐन, कार्यविधि, विकास निर्माणका काम चुनाव प्रभावित हुने भन्दै रोकेपनि बजेट र कार्यविधि उर्लाबारीवासीको हितमा भएको र चुनाव आउने बेलामा विकास गतिविधि गर्न हुन्न भन्ने नरहेको उनले बताए । कार्यपालिका बैठक बस्न नसक्दा प्रदेश समपुरक कोषबाट ०७९÷०८० मा आउने ३ करोड समपुरक अनुदान अब नआउने भएको उनले बताए ।
अर्को प्रसङ्गमा मेयर फागोले ५ वर्षअघि निर्वाचनताका आफूले व्यक्त गरेका ९१ बुँदे प्रतिवद्धता मध्ये ५४ वटा पूरा भएको बताए । यस्तै, आफ्ना प्रतिवद्धतामा उल्लेख नभएको उज्यालो उर्लाबारी सुरक्षित उर्लाबारी अभियान अन्र्तगत उर्लाबारीको पुर्वपश्चिम राजमार्गमा र अन्य शाखा सडकहरु सडक बत्ती जडान सहित अन्य विकास निर्माणको कार्य पनि भएको उनले बताए ।