
जाओ फेलिक्स र लुइस सुआरेजको दुई–दुई गोलको सहयोगमा एट्लेटिको मड्रिडले प्रिमियर लिग फुटबलमा सहज जीत निकालेको छ । शनिबार राति भएको खेलमा एट्लेटिकोले आलाभेसलाई ४–१ गोलले हराएको हो ।
घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोलाई जित दिलाउन फेलिक्स र सुआरेजले दुई–दुई गोल गरे । उत आलाभेसका लागि गोन्जालो स्कालान्टेले एक गोल फर्काए । खेलको ११औं मिनेटमा फेलिक्सले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । पहिलो हाफमा १–० गोलको अग्रता लिएको एट्लेटिकोले दोस्रो हाफमा थप तीन गोल गर्यो ।
आलाभेसका लागि ६३औं मिनेटमा गोन्जालोले बराबरी गोल फर्काए । त्यसपछि खेलको ७५औं मिनेटमा सुआरेजले पेनाल्टीमा गोल गर्दै एट्लेटिकाको अग्रता २–१ को बनाए । ८२औं मिनेटमा फेलिक्सले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–१ गोलको अग्रता दिलाए ।
९०औं मिनेटमा सुआरेजले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई ४–१ गोलको जित दिलाए । जितसँगै एट्लेटिको अंक तालिकाको शीर्ष तीनमा उक्लियो । लिगमा ३० खेल खेलेको एट्लेटिकाको ५७ अंक छ । एट्लेटिको तालिकाको तेस्रो स्थानमा छ । पराजित आलाभेस २२ अंक जोडेर तालिकाको पुछारमा छ ।


