
क्रेजी संवाददाता
पथरी । राष्ट्रिय भूमि आयोगको मोरङको पथरीशनिश्चरेस्थित सेवा केन्द्रले आजको नगरस्तरीय सर्वदलीय सहजीकरण समितिसँगको बैठकमा हालसम्मको कामको प्रगतिका बारेमा जानकारी गराएको छ ।
सहजीकरण समितिका संयोजक नगर प्रमुख दिलीपकुमार राईले वडा नम्बर १ मा रेकी सम्पन्न गरी पोइन्टका लागि पिल्लर राख्ने काम सकिएको र १० मा सो काम थालिएको बताउनुभयो ।
अन्य वडामा पनि यो क्रम अघि बढाउँदै जाने निर्णय गरिएको पनि जनाउनुभयो । आयोगबाट जानकारी आएपछि अब २ वटा टोली बनाएर वडा नम्बर १ बाट नापी थालिने समेत निर्णय भएको उहाँले जानकारी गराउनुभयो ।
बैठकमा उहाँले, अरु वडाको कम्प्युटरमा तथ्यांक प्रविष्टिकरण सकिएर वडा नम्बर १० को कार्य धमाधम भइरहेको जनाउनु भयो । साथै यसअघिका आयोगबाट जग्गा धनि प्रमाणपूर्जा प्रदान गरेपनि त्यसको श्रेस्ता, मोड, फिल्डबुक र नक्सा कायम हुन बाँकी रही अधुरो अवस्थामा रहेको कामको यसबेला आयोगले सूचना गरे अनुरुप आवश्यक कागजात पठाउने काम वडा वडाबाट अघि बढेको पनि प्रष्ट्याउनु भयो ।
बैठकमा, नगर उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल र दलका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

