मधुमल्लाको महत्व दर्शाउन गोल्डकप आयोजना - Crazysaptahik.com

मधुमल्लाको महत्व दर्शाउन गोल्डकप आयोजना

क्रेजी संवाददाता
उर्लाबारी । राज्यपुनर्सरचना गर्दा गाउँपालिकाको नाम ‘अर्कै’ भएपछि मधुमल्लाको पहिचान ओझेल परेको स्थानीयको गुनासो रहँदै आएको छ ।

साविकका मधुमल्ला, टाँडी र रमितेखोला गाविसलाई समेटेर मिक्लाजुङ गाउँ पालिका नामाकरण गरिएपछि स्थानीयमा चर्को असन्तुष्टि रहदै आएको छ । पुर्वी नेपालकै पुरानो बजार कहलिएको मधुमल्लाको नामलाई ताजगी राख्ने हेतुले यहाँ पहिलोपल्ट गोल्डकप आयोजना गरिएको छ ।

ऐतिहासिक महत्व बोकेको मधुमल्लाको पहिचानका खातिर गोल्डकप आयोजना गरिएको एक कार्यक्रममा जानकारी दिइयो । नयाँ वर्षको अवसर पारेर ‘प्रथम मधुमल्ला गोल्ड कप २०७९’ आयोजना हुने भएको हो ।

इष्ट स्टार स्र्पोटिङ क्लब मधुमल्लाको आयोजनामा बैशाख २ गतेदेखि ९ गतेसम्म खेल हुने जनाइएको छ । उद्घाटन खेलमा युके एफसी कर्साङ भारत र रोयल स्र्पोटिङ क्लब दमकबीच स्पर्धा हुने खेल संयोजक सागर लुईटेलले जानकारी दिए । यस्तै, जलथल एफसी झापा, पुलिस क्लब रानी, आयोजक इष्ट स्टार स्र्पोटिङ क्लब मधुमल्ला, राष्ट्रिय जागृति फुबटल क्लब इहटरी, विजय युथ क्लब हेटौडा र चर्च ब्वाइज काठमाडौंको पनि सो गोल्डकपमा सहभागिता रहने लुइटेलको भनाई छ ।

मधुमल्लास्थित मनोहर जनता माविको प्राङ्गणमा प्रतियोगिता हुनेछ । खेलका विजेतालाई नगद ३ लाख ३ सय ३३ रुपैयाँ र उप–विजेतालाई १ लाख ५० हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने आयोनक इष्ट स्टार क्लबका अध्यक्ष सुसन खड्काले जानकारी दिए । खड्काका अनुसार प्रतियोगिता सम्पन्न गर्न २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सहयोगी दाताकै भरमा ऐतिहासिक गोल्डकप आयोजना गर्न लागिएको उनले जनाए ।

प्रतियोगिताभर ३५ हजार बढी दर्शकले खेल हेर्ने अनुमान गरिएको छ । ‘विगतमा च्यालेञ्जकपका नाममा फुटबल प्रतियोगिताहरु हुने गरेका थिए,’ अध्यक्ष खड्काले भने – ‘मधुमल्लामा पहिलोपल्ट गोल्डकप हुने भएको छ, सभ्य र भव्यरुपमा खेल सम्पन्न गर्ने आसा लिएका छौ ।’ उनले मधुमल्लाको महत्व दर्शाउन गोल्डकप आयोजना गरिएको जनाउँदै प्रतियोगिताहरुमा सहभागिता जनाउन सबैमा आग्रह गरे । खेल सशुल्क हुनेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.