
जुलियन ब्रान्टको दुई गोलको हसयोगमा जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले सहज जित निकालेको छ । शुक्रबार राति भएको खेलमा डर्टमण्डले स्टुटगार्डलाई २–० गोल अन्तरले हराएको हो ।
स्टुटगार्डको घरेलु मैदानमा भएको खेलमा डर्टमण्डलाई जित दिलाउन जुलियन ब्रान्टले दुई गोल गरे । खेलको १२ औं मिनेटमा जुलियनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोल गरेको डर्टमण्डले दोस्रो हाफमा थप एक गोल गर्यो ।
७१ औं मिनेटमा जुलियनले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डलाई २–० को जित दिलाए । जितसँगै डर्टमण्डले २९ खेलमा ६० अंक जोडेको छ । डर्टमण्ड तालिकाको दोस्रो स्थानमा छ । पराजित स्टुटगार्ड २७ अंक जोडेर १५ औं स्थानमा छ ।


