क्रेजी संवाददाता
विराटनगर । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन सर्छ कि भन्ने आशंका नपाल्न आग्रह गरेका छन् ।
उनले मतपत्र छपाईदेखि आचारसंहिता समेत लागू भइसकेको अवस्थामा निर्वाचन सर्ने अनुमानसमेत गर्न नसकिने बताए ।
मंगलबार आयोगकै आयोजनामा गरिएको सञ्चारकर्मी अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको रकेट नै उडिसकेको बताए । उनले उडिसकेको रकेटलाई यताउता गर्नै नसकिने र त्यसो गरिएको खण्डमा दुर्घटना निश्चित हुने बताए ।
थपलियाले आयोगले ३० जिल्लाको मतपत्र छापिसकेको र निर्वाचन आचारसंहिता पनि लागू गरिसकेको अवस्थामा निर्वाचन सार्ने कुरा सोच्नै नसकिने स्पष्ट पारे ।
‘आजको अवस्थामा जहाज पनि होइन त्यो, जहाज भए एकछिन रोक्न पनि सकिएला, अर्को विमानस्थलमा लैजान सकिएला, अहिले त निर्वाचनको रकेट प्रक्षेपण भइसकेको अवस्था हो’ थपलियाले भने, ‘यस्तो बेलामा निर्वाचन भएन भने हामीले होइन, लोकतन्त्रले नै हार्छ ।’ आयोगले ३० जिल्लाको त मतपत्र नै छापिइसकेको जानकारी दिए ।
आयोग स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र मितव्ययी निर्वाचन गराउन केन्द्रित भएको उनले बताए । अघिल्लो स्थानीय तह निर्वाचनबाट ४१ प्रतिशत महिलाको पहुँच कायम भएकोले आयोगले यसपटक त्यसलाई ४५ प्रतिशत पुर्याउनेतिर केन्द्रित भएकोले कुनैपनि दलले एउटामात्रै प्रमुख पदमा उम्मेदवार दिनुपर्दा महिलालाई प्राथमिकतामा राख्न आयोगले स्पष्ट रुपमा भनिसकेको जानकारी दिए ।
निर्वाचनको समयमा मिडियाबाट पनि भ्रामक कुरा आउन सक्ने सम्भावना भएकोले संवेदनशील समयमा पत्रकारहरु अझ जिम्मेवार भइदिनुपर्ने धारणा राखे । उनले तथ्यमा रहेर समाचार लेखिदिन समेत आग्रह गरे । साथै निर्वाचनप्रति भ्रामक कुरा गरेर जनविश्वास घटाउने जोखिम रहेको र धमिलो पानीमा माछा मार्न सकिन्छ भन्ने प्रवृत्ति बढेको तर्फ पनि आयोग सचेत रहेको बताए ।
अभिमुखीकरण कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार र मिडियाहरूले अघिपछिको समयमा भन्दा निर्वाचनको बेलामा आचारसंहिता पालनामा बढी ध्यान दिनुपर्ने सुझाव दिए ।
कार्यक्रममा आयोगका सहसचिव तुलसीप्रसाद श्रेष्ठले स्थानीय तह निर्वाचन र निर्वाचन आचारसंहिता, प्रेस काउन्सिलका सूचना अधिकारी रामशरण बोहराले मिथ्या सूचना, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिको रोकथाम, पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्काले निर्वाचनसम्बन्धी समाचार संकलन र रिपोर्टिङबारे पत्रकारहरुलाई सहजीकरण गरेका थिए ।
– उद्घोषबाट