
क्रेजी संवाददाता
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाले पालिकाका अपाङ्ग अशक्त र ज्येष्ठ नागरिकलाई घरघरमा सामाजिक सुरक्षा वितरण गर्न थालेको छ ।
निर्वाचनताका स्थानिय पालिकाका जनप्रतिनिधिले आपाङग, अशक्त र ज्येष्ठ नागरिकलाई घरघरमा भत्ता वितरण गर्ने प्रतिवद्धता गरेका थिए । सोही प्रतिवद्धतालाई पूरा गर्दै उर्लाबारी नगरपालिकाले वैशाख महिनादेखि लागू हुनेगरी कार्यक्रम सञ्चालन गरेको हो ।
सोमवार उर्लाबारी–३ बाट यो कार्यक्रमको सुरुवात गरिएको हो । सुरुवातको दिन सो वडाका १४ जना अपाङ्ग अशक्त र ज्येष्ठ नागरिकलाई घरघरमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।
स्थानिय सरकारले घरमै भत्ता उपलव्ध गराएपछि बैंकमा पुगेर घटौँ कुर्नुपर्ने अवस्थाको अन्त्य भएको भन्दै उनिहरुले खुशी व्यक्त गरेका थिए ।
घरघरमा सामाजिक सुरक्षाभत्ता वितरण गर्न उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले उर्लाबारीमा रहेका विभिन्न बैंकहरु सग छलफल गरि बैंक सम्म पुग्न सकस हुने नागरिकहरुलाई घरमै भत्ता उपलव्ध गराउने व्यावस्था मिलाएको बताएका छन् ।
सामाजिक सुरक्षाभत्ता वितरणका लागि उर्लाबारी नगरपालिकाले एक वडा एक बैंकको निति अवलम्वन गरेर बैशाख देखी हरेक त्रैमासिक रुपमा वितरण गरिने भत्तालाई पालिकका नौ वटै वडाका नागरिकलाई घरघरमै पु¥याउने व्यावस्था मिलाएको मेयर फागोले बताए ।
सोमबार अभियानमा उर्लाबारी–३ का वडाध्यक्ष गञ्जबहादुर कार्की, वडा सदस्य सोमप्रसाद तिम्सिना, तुलसा घिमिरे, सम्झना मोते र भिष्म बुढाथोकी लगाएत माछापुच्छ«े बैंकका कर्मचारी र नेपाल प्रहरीको उपस्थिति रहेको थियो ।

