सुपर ओभरमा श्रीलङ्कासँग हा–यो न्युजिल्याण्ड - Crazysaptahik.com

सुपर ओभरमा श्रीलङ्कासँग हा–यो न्युजिल्याण्ड

सुपरओभरमा न्युजिल्याण्डलाई हराउँदै श्रीलङ्काले टी–२० शृङ्खलामा विजयी सुरुवात गरेको छ । नियमित ओभरमा दुई टोलीको समान स्कोर भएपछि खेल सुपरओभरमा पुगेको थियो । महिश थिकसानाको कसिलो बलिङबीच न्युजिल्याण्डले एक ओभरमा २ विकेटको क्षतिमा ८ रनमात्र बनाउन सक्यो ।

जवाफमा चारिथ असालांकाले एडम मिल्नेको बलमा एउटा छक्का र चौका हिकाउँदै टोलीलाई जीत दिलाएका हुन् । यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९६ रन बनाएको थियो ।

प्लेयर अफ द म्याच घोषित चारिथ असालांकाले ४१ बलमा ६ वटा छक्का र २ चौकाको मद्दतले ६७ रन बनाए । त्यस्तै, कुशल परेराले नटआउट रहँदै ५३ तथा कुशल मेन्डिसले २५ रन बनाए । न्युजिल्याण्डका लागि जेम्स निसमले २ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रेको न्युजिल्याण्डले पनि ८ विकेटको क्षतिमा समान १ सय ९६ रन बनायो । न्युजिल्याण्डका लागि डार्यल मिचेलले ६६ तथा मार्क च्यापम्यानले ३३ रन बनाए । श्रीलङ्काका लागि प्रमोद मधुशांका, वानिन्दु हसारांगा र धनुष शनाकाले २–२ विकेट लिए ।

सम्बन्धित खवर