एसिसी प्रिमियर कप : युएईको सिङ्गापुरमाथि उत्कृष्ट जित - Crazysaptahik.com

एसिसी प्रिमियर कप : युएईको सिङ्गापुरमाथि उत्कृष्ट जित

एसिसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा संयुक्त अरब इमिरेट्स (युएई)ले सिङ्गापुरलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको समूह ‘बी’ अन्तर्गतको खेलमा युएईले सिङ्गापुरलाई दुई सय एक रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको हो ।

यस जितसँगै युएईले चार अङ्क जोडेको छ । युएईले दिएको चार सय ७२ रनको विजयी लक्ष्य पच्छाएको सिङ्गापुर निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ७० रनमा समेटियो । सिङ्गापुरका लागि मनप्रित सिंहले सर्वाधिक ६६ रनको योगदान दिए ।

त्यस्तै थिलिप उमीदुराईले ५२ रन जोडे भने सुरेन्द्रर चन्द्रमोहन र कप्तान अरित्र दत्तले समान ३८÷३८ रन बनाए । युएईका लागि सचित शर्मा, कात्तिक मैयप्पन र आयन अफजल खानले समान दुई\दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा सवै विकेट गुमाउदैँ चार सय ७१ रनको योगफल तयार बनाएको थियो । युएईका लागि युवा ब्याटर वृत्य अरविन्दले सर्वाधिक एक सय ७४ रनको योगदान दिए ।

एक सय ३३ बल खेलेका उनले १७ चौका र सात छक्काको मद्दतमा एक सय ७४ रन जोडेका हुन् ।त्यसैगरी, युएईका कप्तान मोहम्मद वासिमले एक सय ६० रन जोडे । उनले ८२ बलमा ९ चौका र १६ छक्काको मद्दतमा एक सय ६० रन बनाएका हुन् ।

आयन अफजल खानले ७४ रन बनाए । उनले ५० बलमा ९ चौका र ३ छक्कासहित ७४ रन बनाएका हुन् ।यस्तै, युवा ओपनर आर्यन लाक्रा सात बलमा दुई चौकासहित १२ रनमा आउट भए ।

आसिफ खान ११ तथा रोहन मुस्तफा तीन रनमा आउट भए । बलिङतर्फ सिङ्गापुरका आदित्य भर्गवले चार विकेट लिए भने रमेश कलिमुथुले तीन विकेट हात पारे ।

त्यस्तै, विनोथ भास्करनले दुई विकेट लिँदा मनप्रीत सिंहले एक विकेट लिए ।उक्त प्रतियोगिताअन्तर्गत मूलपानी क्रिकेट मैदानमा भोलि नेपालले साउदी अरेबियासँग खेल्नेछ ।

सम्बन्धित खवर