पुलिसँग मनाङ पराजित - Crazysaptahik.com

पुलिसँग मनाङ पराजित

सर्वाधिक ८ पटकको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी फुटबल क्लबलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लबले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा मंगलवार दोस्रो जित निकालेको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा सम्पन्न खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले मनाङ मर्स्याङ्दी फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै जारी लिगमा दोस्रो जित निकालेको हो ।

१२ औँ चरणमा दोस्रो जित निकालेको पुलिसले यसअघि सातौँ चरणको खेलमा फ्रेण्ड्सलाई ३–१ गोलले पराजित गर्दै पहिलो जित दर्ता गरेको थियो । निकै रोमाञ्चक भएको खेलमा पुलिसले सातौँ मिनेटमा पेनाल्टीबाट लिएको अग्रता नै स्पष्ट तीन अङ्क जोड्नका लागि पर्याप्त भएको हो ।

मनाङका डिफेन्डर रन्दिप पौडेलले पुलिसका विदेशी खेलाडी मोसेस टोएमलाई खराब फाउल गरेपछि पुलिसले पेनाल्टी प्रहारको मौका पाएका थियो । पेनाल्टी प्रहारमा आएका मोहम्मद आसिकले अवसरलाई सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

पछि परेसँगै खेलमा फर्किन निकै मेहनते गरेको मनाङले केही अवसर पाएपनि सदुपयोग गर्न असफल रह्यो । यससँगै मनाङले लगातार पाँच खेलमा नतिजा सुम्पिएको छ । खराबलाई समाप्त गर्ने लक्ष्यसहित रेलिगेशनको अन्तिम स्थानमा रहेको पुलिसविरुद्ध मनाङले मंगलवार पनि खुलेर खेल्न सकेन र अङ्क सुम्पिन बाध्य बन्यो ।

यस जितसँगै पुलिसले १२ खेलबाट ९ अङ्क बनाएको छ भने पराजित मनाङको समान १२ खेलबाट १५ अङ्क छ । लिग अन्तर्गत मंगलवार नै दशरथ रङ्गशालामा भएको खेलमा ललितपुरे टोली फ्रेण्ड्सले काठमाडौँ न्युरोड टिम (एनआरटी)लाई ३–१ गोल अन्तरले स्तब्ध बनायो ।

फ्रेण्ड्सको जितमा राफिक अमिनु, टोरिक जेब्रिन र प्रकाश बुढाथोकीले समान एक÷एक गोल गरे भने एनआरटीका सञ्जीव विष्टले एक गोल फर्काए । शुरुवातबाट नै आक्रामक हुँदै खेलेको फ्रेण्ड्सले १४ औँ मिनेटमा अमिनुको गोलबाट अग्रता लिएको थियो ।

४१ औँ मिनेटमा सञ्जिबले गोल गर्दै एनआरटीलाई १–१ गोलको बराबरीमा ल्याउँदै टोलीलाई खेलमा फर्काएका थिए । इन्जुरी समयमा फ्रेण्ड्सका जेब्रिनले गोल गर्दै टोलीलाई पहिलो हाफमा २–१ को अग्रता निकाले त्यसपछि खेलको ७६ औँ मिनेटमा कप्तान प्रकाशले गोल गर्दै फ्रेण्ड्सलाई ३–१ को जित निश्चित गरे ।

यससँगै फ्रेण्ड्सले जारी लिगमा चौथो जित निकालेको छ । १२ खेल खेलेको फ्रेण्ड्सले तालिकामा १४ अङ्क पु¥याएको छ । यस्तै पराजित एनआरटीले १२ खेलमा १३ अङ्क जोडेको छ । एनआरटी फ्रेण्ड्स भन्दा एक स्थान मुनि ११ औँ स्थानमा छ ।

लिग अन्तर्गत बुधवार पनि तीन खेल हुनेछन् । च्यासल मैदानमा सातदोबाटो युथ क्लबले संकटा क्लवसँग प्रतिस्पर्धा गर्दा दशरथ रङ्गशालामा थ्री स्टार र मच्छिन्द्र फुटबल क्लवबीच खेल हुनेछ । यस्तै दिनको अन्तिम खेल दशरथ रङ्गशालामा नै हिमालयन शेर्पा क्लब र जावलाखेल युथ क्लब आमने सामने हुनेछन् ।

सम्बन्धित खवर