विभागीय टोली नेपाल एपिएफ क्लब राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा बिहीबार फ्रेण्ड्स क्लबसँग बराबरीमा रोकिएको छ ।
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालको मैदानमा सम्पन्न खेलमा एपिएफले पहिलो हाफमा लिएको अग्रतालाई जोगाउन नसक्दा दोस्रो हाफमा गोल खाँदै १–१ को बराबरी खेलेको हो ।
यससँगै दुवै टोली १३ औं चरणको खेलमा १–१ अंक बाँड्दै पहिलो राउण्डको लिगमा बिट मारेका छन् । निकै प्रतिष्पर्धात्मक बनेको खेलमा दुवै टोलीले स्पष्ट तीन अंकका लागि खेलेका थिए ।
सुरुवातबाट नै ललितपुरे टोली फ्रेण्ड्समाथि आक्रामक रणनीति अपनाउँदै खेलेको एपिएफले २७ औं मिनेटमा प्रदिप लामाको पासमा अग्रता निकालेको थियो । कप्तान नविन लामाले पेनाल्टी बक्स बाहिर अनमार्क रहेका प्रदीपलाई दिएका थिए र उक्त अवसरलाई प्रदिपले गोलमा परिणत गर्न सफल भएका थिए ।
त्यसपछि पनि पहिलो हाफको खेल अवधिभर बारम्बार प्रयास गरेको एपिएफले थप गोल गर्न सकेन । दोस्रो हाफमा फ्रेण्ड्सले सुधारिएको प्रदर्शन गयो । ५२ औं मिनेटमा राफिक अमिनुले गोल गर्दै फ्रेण्ड्सलाई खेलमा फर्काए ।
बाँकी समयमा पनि थप गोलका लागि प्रयास गरेको फ्रेण्ड्सबाट थप सफल हुन सकेन र दुवै टोलीले निर्धारित ९० मिनेटको खेल १–१ बराबरी खेल्दै अंक बाँडेका हुन् । यससँगै विभागीय टोली एपिएफले जारी लिगमा तेस्रो बराबरी खेलेको छ ।
एपिएफले १३ खेल खेल्दा १८ अंक जोडेको छ भने अर्को टोली फ्रेण्ड्सले समान १३ खेलबाट १५ अंक बनाएको छ । लिगमा शुक्रवार पनि दुई खेल हुनेछन् ।
दिनको पहिलो खेल एन्फा मुख्यालयमा न्युरोड टिम (एनआरटी) र थ्री स्टार क्लवबीच हुनेछ भने दोस्रो खेल दशरथ रंगशालामा हिमालयन शेर्पा र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिष्पर्धा हुनेछ ।