क्रेजी साप्ताहिक
पथरी । पथरीशनिश्चरेको पहिलो निजी विद्यालय एभरेष्ट बोर्डिङ स्कुलले राष्ट्रिय दुई स्रष्टालाई सम्मान गर्ने भएको छ । विद्यालयले सि.एम. कन्दङ्वा राष्ट्रिय विशिष्ट प्रतिभा सम्मान र सि.एम. कन्दङ्वा राष्ट्रिय युवा प्रतिभा सम्मान गरी सम्मान गर्न लागेको हो ।
शुक्रबार विद्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी स्कुलले विशिष्ट प्रतिभा सम्मान वरिष्ठ लोक गायक एल.पी. जोशी र युवा प्रतिभा सम्मान साहित्यकार धनकुटे कान्छालाई सम्मान गरिने विद्यालयका प्रिन्सिपल शान्तिराम तिम्सिनाले जनाए । विशिष्ट प्रतिभा सम्मानको लागि ५० हजार नगद र ताम्रपत्र र युवा प्रतिभा सम्मान ३५ हजार र ताम्रपत्रले सम्मान गरिने विद्यालयका निर्देशक रविन कन्दङ्वाले बताए । विद्यालयले स्थापना गरेको सि.एम.कनदङ्वा स्मृति कोषको राष्ट्रिय विशिष्ट र युवा प्रतिभा सम्मान २०७६ मा दुई व्यक्तित्वहरुलाई छनौट समितिले छनौट गरेका थिए ।
लोक गायक एल.पी. जोशी र साहित्यकार धनकुटे कान्छालाई वैशाख २६ गते विहिबार विद्यालयको एक कार्यक्रम बीच प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा उप्रेती र १ नं. प्रदेशका प्रतिष्ठित साहित्यकारले सम्मान गर्ने बताइएको छ । धनकुटे कान्छाले ४ वटा कृति प्रकाशित गरिसकेको र एभरेष्ट स्कुल संस्थापक सि.एम. कन्दङ्वासँग सहकार्य गरेका उनको कृतिको भूमिका लेख्ने तथा उनको बारेमा समीक्षा लेखेर योगदान दिएका थिए । यस्तै गायक एल.पी. जोशी एभरेष्ट स्कुल संस्थापक सि.एम. कन्दङ्वासँग धनकुटामा हुँदा सहकार्य गरेका र लोक गीत संगीत क्षेत्रका धरोहर व्यक्तित्व हुन् ।