एल.पी.जोशी र धनकुटे कान्छा सम्मानित - Crazysaptahik.com

एल.पी.जोशी र धनकुटे कान्छा सम्मानित

क्रेजी साप्ताहिक
पथरी । वरिष्ठ लोक गायक एल.पी. जोशी र साहित्यकार धनकुटे कान्छा (शंकर चापागाई)लाई सी.एम. कन्दङ्वा कोषद्वारा आयोजित प्रतिभा पुरस्कारले सम्मान गरिएको छ । विहिबार पथरीशनिश्चरेमा भएको सम्मान सी.एम. कन्दङ्वा राष्ट्रिय युवा प्रतिभा पुरस्कार धनकुटे कान्छा र विशिष्ट राष्ट्रिय प्रतिभा पुरस्कार जोशीलाई प्रदान गरिएको हो ।

जोशी र धनकुटेलाई नगद रु. ५० हजार र ३५ हजार सहित ताम्रपत्रले सम्मान गरिएको हो । दुवै सर्जक झापा दमकका हुन् । कार्यक्रममा सरस्वती बन्दना विद्यालय संगीत प्रतिक्षक अनिल फागो, सि.एम. कन्दङ्वाको व्यक्तित्व तथा कृतित्वबारे डा. रामनारायण कन्दङ्वाले प्रष्टाएका थिए । यस्तै सम्मान हुनेहरुको ताम्रपत्र वाचन कोषका सल्लाहकार सरोजा खड्गीले गरेकी थिइन् ।

सी.एम. कन्दङ्वा कोषका अध्यक्ष रविन कन्दङ्वाको अध्यक्ष्तामा भएको उक्त सम्मान कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सम्मान प्रदान गरेका थिए । वि.सं. २०४३ सालमा पथरीशनिश्चरेमा पहिलो संस्थागत विद्यालय एभरेष्ट माविको स्थापना गर्नुभएका सीएम कन्दंगवाको जन्मजयन्तीको सन्दर्भ पारेर वर्षेनी यस सम्मान कार्यक्रममालाई निरन्तरता दिने अध्यक्ष कन्दङ्वाले बताए ।

विशेषगरी प्रदेश नम्वर १ का भाषा, साहित्य, कला, संस्कृति, शिक्षा, खेलकुद, पत्रकारिता, चिन्तन, समाजसेवा क्षेत्रका २ व्यक्तित्वलाई वर्षेनी पुरस्कार प्रदान गर्दै जानेछ । वि.स. १९८५ चैत २९ गते भारतको दार्जिलिङमा जन्मिनु भएका कन्दङ्वाको ०६२ फागुन २५ गते पथरीशनिश्चरेमा निधन भएको थियो । उहाँका ४ कृतिहरु प्रकाशित छन् । सो सम्मान कार्यक्रममा साहित्यकारहरु बद्री भिखारी, विवश बलिभद्र, मधु पोखरेल, सुमित्रा वाङ्देल चेली, तेजराज खतिवडा, मिन कुमार ‘नवोदित’ लगायतले आफ्नो रचना बाचन गरेका थिए ।

सम्बन्धित खवर