क्रेजी साप्ताहिक
पथरी । मोरङ जिल्लाकै असुरक्षित मानिदै आएको मोरङको पथरीशनिश्चरे इलाकामा डिएसपी (प्रहरी नायव उपरीक्षक)को दरवन्दीका लागि पहल भइरहेको प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् । बुधबार पथरी उद्योग वाणिज्य संघले डिएसपी राख्नका लागि पहल स्वरुप बुझाएको ज्ञापन–पत्र बुझ्दै राईले सो उक्त कुरा बताएका हुन् ।
मुख्यमन्त्री राइले पथरीको पछिल्लो घटनाक्रमले निक्कै असुरक्षित रहेको बुझेकाले के कारणले यस्ता घटना भइरहेको छ सो विषयमा स्थानीयले पनि गम्भिर रुपमा छलफल गरेर निराकरणतर्फ लाग्नुपर्ने बताए । राईले भन्नुभयो–‘पथरीशनिश्चरेका विषयमा हामी एकदमै गम्भीर छौं । डिएसपीको दरवन्दीका लागि पहल गर्ने प्रतिबद्धता जनाउछु, तर त्यहाँका स्थानीयले बसेर यस्ता घटनाका विषयमा गम्भीर रुपमा छलफल गर्न आवश्यक छ ।’
मुख्य मन्त्रीको कार्यालयमा ज्ञापन पत्र बुझाउन गएका व्यापारी तथा बुद्धिजिवीहरु माझ डिआइजी केदार रिजालले पथरीको घटना रिना मृत्यु प्रकरण, षड्राज तामाङ मृत्यु प्रकरण, सो भन्दा अगाडिका शंकास्पद मृत्युका घटनालाई सुक्ष्म रुपमा हेरिरहेको जानकारी दिए । छिट्टै नै कोशी नदीदेखि पूर्व काकडभिट्टासम्म पूर्व पश्चिम राजमार्गमा सीसी क्यामेरा जडान गरेर शान्ति सुरक्षा चुस्त पार्ने तयारी भएको पनि रिजालले जानकारी दिए ।
बुधबार वाणिज्य संघको नेतृत्व गर्दै अध्यक्ष दीपक बस्नेतले मुख्य मन्त्रीलाई ज्ञापन–पत्र बुझाएका थिए । संघले मुख्यमन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीलाई समेत ज्ञापन–पत्र बुझाएको छ । सो को बोद्धार्थ जिल्ला प्रशासन कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय पथरी र पथरीशनिश्चरे नगरपालिकालाई समेत दिइएको संघका महासचिव अशोक कुमार राईले बताए । ज्ञापन–पत्रमा रिना मृत्यु प्रकरणका विषयमा पनि छानविन भइरहेको हुंदा निष्पक्ष छानवीन गरी दोषीलाई कडा कारवाही गर्न माग गरिएको छ ।
भिडियो हेर्नुहोस् …