भूमिप्रसाद पाठक
मोरङको पथरीशनिश्चरे–२ को वाल्मीकि मेमोरियल बोर्डिङ स्कुलको सभाहलमा राष्ट्रिय घरेलु तथा साना उद्योगको ७ दिने उद्यमशीलता विकास तालिमको समापन भएको छ । कार्यक्रमको प्रमुख अतिथिका रुपमा रहेकी नगरपालिका उपप्रमुख यमुना विष्ट (वास्तोला) ले तालिममा सहभागीलाईृ ‘राम्रो उद्यमशीलता बन्दै आय–आर्जन उत्पादन भएका वस्तुलाई बजारीकरण गर्दै लैजाने भन्दै, सबै मिलि हातेमालो गर्दै अगाडि बढ्नुपर्दछ’ भन्ने धारणा राखिन् ।
कार्यक्रममा विशिष्ट अतिथिहरुमा वडा नं–२ का वडाध्यक्ष यामप्रसाद गुरागाई राष्ट्रिय घरेलु तथा साना उद्योगका कार्यक्रम अधिकृत तथा प्रशिक्षण गणेश राउत, वाल्मीकि मेमोरियल मा.विका प्रिन्सिपल चन्द्रप्रसाद दुलाल र एभरेष्ट आर्ट फ्युजनका संरक्षक तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सरोजा खड्गी रहेका थिए । त्यसैगरी अतिथिहरुमा एभरेष्ट आर्ट फ्युजनका उद्धव थापा तथा नगरसंयोजक भूपेन्द्र तिम्सिना रहेका थिए । तालिममा ४५ भन्दा बढी सहभागीहरुलाई प्रमुख अतिथि वास्तोलाले प्रमाण–पत्र वितरण गरेकी थिइन् । कार्यक्रमको अध्यक्षता एभरेष्ट आर्ट फ्युजनका अध्यक्ष षडानन्द (निश्चल) सुवेदी र कार्यक्रम सञ्चालन सोही समितिका सह–सचिव दीपक ढुङ्गाना ‘दियालो’ ले गरेका थिए । एभरेष्ट आर्ट फ्युजनको संयोजन रहेको कार्यक्रममा पथरीशनिश्चरे नगरपालिका सहयोगीको रुपमा रहेको छ । उक्त तालिम बैशाख २२ गतेबाट सुरु भएको थियो ।