क्रेजी साप्ताहिक
पथरी l विद्यालयको खेल मैदान, विभिन्न झाकी, गर्मीको प्रवाह नगरी खोचाखेच दर्शकको भीड यो दृश्य थियो अमरदहको सुनवर्सी–२ मा भएको प्रदेश स्तरीय तेस्रो अमरदह ढल्के जोवन फुटबल प्रतियोगिताको ।
मंगलबार भएको सो प्रतियोगिताको उपाधि द योङ बदर्स भेट्रान ईटहरीले आफ्नो पोल्टामा पारेको छ । पूर्वाञ्चल भेट्रान दमकलाई ० का विरुद्ध १ गोल गर्दै ईटहरी बिजयी बनेको हो । फाइनल खेलमा पहिलो हाफको २५ औं मिनेटमा इटहरी भेट्रानका तिर्थ बस्नेतले गरेको एक मात्र गोल नै निर्णायक बन्न पुग्यो ।
सुनबर्षी नगरपालिका २ अमरदहको बिरेन्द्र सार्वजानिक माविमा भएको प्रतियोगिताको उपाधिसँगै इटहरीले नगद रु. २ लाख ११ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेतामा सीमित दमकले १ लाख ५१ हजार रुपियाँमा चित्त बुझाएको छ । फाइनल खेलको मेन अफ द म्याच बिजेता टिमका गोल रक्षक राम कुमार चौधरी घोषित हुँदै नगद ५ हजार प्राप्त गरे । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बिजेता टोली इटहरीका कप्तान निर्मल तामाङ घोषित हुँदै नगद १५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा धेरै गोलकर्ता पनि विजेता टिमकै लिला थापा मगर बन्दै नगद १० हजार प्राप्त गरे भने अनुशाशित टिम आयोजक अमरदह भेट्रान घोषित भए ।
३० वर्ष उमेर पुगेका भेट्रान खेलाडीहरुको सहभागितामा प्रतियोगितामा १ नं. प्रदेशका १६ टिमले सहभागिता जनाएका थिए । फाइनलमा एक भाग्यशाली दर्शकले पल्सर मोटरसाइकल प्राप्त गरेका छन् । सुनवर्शी–२ अमरदहका चमरु ऋषिदेवले १ सय ५० सीसीको पल्सर मोटरसाइकल प्राप्त गरे । १ हजार रुपैयाँ दरको भाग्यशाली चिठ्ठा मार्फत् एक जनालाई आयोजकले मोटरसाइकल प्रदान गरेको हो । खेलको आकर्षणका रुपमा रहेको १५० सिसिको पल्सरको भाग्यशाली बिजेताको घोषणा लक्की ड्र मार्फत फाइनलकै दिन गरिएको हो ।