क्रेजी साप्ताहिक
पथरी । मोरङको कानेपोखरी गाउँपालिकामा द्रूत परीक्षण विधि (आरडीटी) बाट ३१ जनाको नमूना परीक्षण भएको छ ।
दुई चरणमा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । वडा नं. १, २, र ३ वडाबाट २० जना र ४, ५, ६ र ७ बाट ११ जनाको द्रुत परीक्षण विधि (आरडीटी) नमूना परीक्षण गरिएको हो । परीक्षण गर्न बोलाएको वडा नं. ४ बाट ४ जना उपस्थित नभएको स्वास्थकर्मी निशा राजभण्डारीले जानकारी दिइन् ।
वैदेशिक रोजगार र संक्रमित स्थानबाट घर आएका मध्येबाट भाइरस संक्रमणको शंका लागेका व्यक्तिहरुलाई द्रूत परीक्षण विधि (आरडिटी) नमूना परीक्षण गरिएको स्वास्थ संयोजक रोहिन्द्र कुमार राजभण्डारीले जनाए ।
कानेपोखरी–२ मा अवस्थित बाँघेझोडाका ७२ वर्षीय लक्ष्मी प्रसाद भट्टराईको आरडीटी टेष्ट नेगेटिभ देखिए पनि स्वास्थ उपचारको क्रममा वैशाख ३ गते विराटनगरमा अवस्थित कोशी अञ्चल अस्पतालमा मृत्यु भएको थियो । उनलाई दुई दिन अघि विराटनगर लगिएको थियो ।
मृतक भट्टराई घरमा भारतीय नागरीकको समूह आएर केही समय घरमै बसेको कारण कोरोना भाइरस संक्रमण हुने भन्दै स्थानीयहरुको पहलमा विराटनगर लगिएको थियो । वैदेशिक रोजगार विदेशबाट, भारतबाट र काठमाडौंबाट २ सय ५० जना गाउँपालिका भित्रिसकेको छ । उनीहरुको निगरानी गाउँपालिकाले गरिरहेको पालिकाका उपाध्यक्ष राजमती इङ्नामले जानकारी दिइन् ।