क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगरमा स्टिमेट अनुसारको गुणस्तरीय काम गर्न सम्वन्धित पक्षलाई निर्देशन दिएको छ ।
नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा आज भएको अनुगमन्मा क्रममा २ वटा योजनामा त्यसखाले निर्देशन दिइएको हो । निर्माण सुरु भएको ७ नम्वर वडा कार्यालयको चरको काम डिजाइन अनुसार नभएको पाइएपछि त्यसलाई भत्काएर डिजाइन अनुरुप गर्न ठेकेदार पक्षलाई निर्देशन दिइएको समिति संयोजक बास्तोलाले बताउनुभयो ।
नगरका प्राविधिक तथा वडाध्यक्ष कपिलमणि ढकाल सहितले भवनको चरको काम हेर्दा डिजाइन अनुसारको नभएको तथ्य फेला पारेको थियो । ६८ लाखको स्टिमेट रहेको भवनका लागि पर्शुराम निर्माण सेवाले ४७ लाख ५३ हजार रुपैयाँमा ठेक्का लिएको थियो । भूँइ तलामा ३ कोठा र माथिल्लो तला ४ कोठाको भवन निर्माण हुनेछ । त्यसको भूँइतलामा शौचालय र स्नानगृह रहनेछ ।
अनुगमन् टोलीले, ७ नम्वर वडाकै स्वामी चोक पूर्व शंकर राईको घर नजिकको बक्स कल्भर्टको पनि दोस्रो पटक अनुगमन् गर्दा गुणस्तरीय काम नभएको ठहर गरेको छ । ५ लाख रुपैयाँको सो योजनामा यसअघिको समितिको सुझाव अनुसार निर्माणको काम केही थप गरेपनि गुणस्तरीय नभएको पाइएको छ । टोलीले, वडा नम्वर ५ को कोठेबारी, ९ को पुल्चोक क्षेत्रको सडक ग्राभेलको पनि अनुगमन गरेको छ ।