क्रेजी साप्ताहिक
मोरङ । नेपाल कम्यूनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई बसोबासको आधारमा जग्गा उपलब्ध गराउन लगायतको माग राख्दै मोरङको पथरी शनिश्चरे नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।
आज अपरान्ह नगरप्रमुख दिलिपकुमार राईलाई बुझाएको पत्रमा सुकुम्बासीहरुलाई जग्गाधनी पुर्जा र पुर्जा दिन समय लाग्ने भए तत्काल बसोबासको प्रमाण पत्र दिन माग गरिएको छ ।
मोहन वैद्य नेतृत्वको सो पार्टीले लकडाउन प्रभावित मजदुरलाई निरन्तर राहत वितरण,
भारत लगायतबाट आएका व्यक्तिहरुको कोरोना भाइरसको स्वाव परीक्षणको साथै नगरमा आइसोलेसन निर्माण गर्न माग गरेका छन् ।
नगरपालिकाले कोरोना भाइरस जस्तो विश्वव्यापी महामारीमा पनि राष्ट्रिय पार्टीको नाममा सबैलाई नसमेटेर एकता कायम गर्न नसकेको ज्ञापनपत्रमा उल्लेख गरेको छ । पार्टीको नगर ईन्चार्ज सुरेन्द्र चापागाई, सेक्रेटरी रत्न पराजुलीको नेतृत्वमा आएको टोलीले विकास निर्माणको गुणस्तमा समेत आशंका भएकोले अनुगमनलाई ब्यबस्थित गर्न सुझाव दिएको छ ।
नेपालको नयाँ नक्सा जारी गर्ने काम सकारात्मक भएको उल्लेख गर्दै सुस्ता, महेशपुर लगायतको अतिक्रमिता भूमीको स्वामित्व फिर्ता लिन प्रभावकारी पहल चाल्न संघीय सरकारलाई वैद्य माओवादीको सुझाव छ ।
मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) नेपालको हितमा नहुने भएकोले राष्ट्र घाती सो कदम खारेज गर्न माग गर्दै आएको सो पार्टीका केन्द्रिय सदस्य सीताराम बुढाथोकीले बताए । ज्ञापनपत्र बुझाउन करिब १५ जनाको टोली नगरपालिका पुगेका थिए ।