विराटनगर एनएसएलको शीर्ष स्थानमा, चितवन अझै जितविहीन - Crazysaptahik.com

विराटनगर एनएसएलको शीर्ष स्थानमा, चितवन अझै जितविहीन

नेपाल सुपर लिग (एनएसएल) मा सोमबार एफसी चितवनलाई २–० ले पराजित गर्दै विराटनगर सिटी एफसी शीर्ष स्थानमा पुगेको छ । लिगमा दोस्रो जितपछि धनगढी समान ७ अंक जोडेको विराटनगर हेड टु हेड र गोलअन्तर दुवैमा धनगढीलाई पछि पार्दै शीर्ष स्थानमा पुगेको हो । यस जितपछि विराटनगरले शीर्ष चारमा रहँदै प्लेअफ पुग्ने समभावना बलियो बनाएको छ ।

चितवन भने चार खेलसम्म अझै जितविहिन छ । ४ खेलबाट २ अंक मात्र रहेको चितवन अन्तिम स्थानमा छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विराटनगरलाई जित दिलाउन विदेशी खेलाडी पेड्रो मान्जी र सन्तोष तामाङले एक एक–गोल गरे ।

पहिलो हाफदेखि नै चितवनमाथि दबाब बनाए पनि विराटनगरले गोल गर्न ७३ मिनेटसम्म कुर्नुपरेको थियो । ७३ औं मिनेटमा सुनील बलको फ्रिकिकमा पेड्रोले उत्कृष्ट गोल गर्दै विराटनगरलाई अग्रता दिलाएका थिए ।

खेल सकिन एक मिनेट बाँकी छँदा सन्तोष तामाङले करिब २० यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै विराटनगरलाई २–० को जित दिलाए ।विराटनगरका कप्तान तथा मार्की खेलाडी रन्जित धिमाल प्लेयर अफ दि म्याच घोषित भए । उनले २५ हजार प्राप्त गरे । यस्तै विराटनगरका सुरज ठकुरी इमर्जिङ प्लेयर अफ दि म्याच घोषित भए र १० हजार प्राप्त गरे ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.