आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिता आज (आइतबार)बाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ तीन खेलहरू हुने नेपाल भलिबल संघले जनाएको छ ।
संघले आइतबार निकालेको तालिकाका अनुसार खेल १० बजे हुने पहिलो खेलमा गण्डकी प्रदेश र ढोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै मध्यान्ह १२ बजे हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र गल्कोट स्पोर्ट्स प्रतिस्पर्धा गर्नेछन् ।
त्रिभुवन आर्मी क्लब र एपीएफबीचको तेस्रो खेल दिउँसो २ बजे सुरु हुनेछ । लिगमा पुरुषतर्फ ७ टिम र महिलातर्फ ५ टिमको सहभागिता छ । विजेताले ६ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौथोले ७५ हजार प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही ३५÷३५ हजार पाउने छन् ।