
क्रेजी संवाददाता
पथरी । स्वाथ्य कार्यालयले मोरङले जिल्लाको पथरी शनिश्चरे र उर्लाबारीका नर्सिङ स्टाफहरुका लागि समुदायस्तरमा मातृ एवम् प्रसुती अवस्थामा हुने मृत्यु निगरानी तथा प्रतिकार्य सम्बन्धी २ दिने तालिम आज पथरी शनिश्चरेमा सुरु भएको छ ।
तालिम उद्घाटनका क्रममा पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले सृष्टिकर्ता नारीको प्रसुती समस्यामा निम्तिने मृत्यु रोक्नका लागि नर्सिङस्टाफहरुले नारी हुनुको पीडा र महत्व गहन रुपमा मनन् गरेर गाउँ वस्तीमा खटिनु पर्नेमा जोड दिनुभयो ।
तालिममा नगर स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले यो तालिमपछि मातृ मृत्युको अवस्था र कारण पत्ता लगाएर समितिमार्फत योजना बनाएर मृत्युदर रोक्न वस्तीस्तरमा कार्यक्रम लगिने बताउनुभयो ।
स्वास्थ्य कार्यालयकी नर्सिङ निरीक्षक झरना गिरीले तालिमको सहजिकरण गर्नुभएको छ । १२ देखि ५५ वर्ष उमेर समूहका महिलाको प्रसुतिजन्य अवस्थाबाट मृत्युदर हाल प्रति १ लाखमा २३९ जना रहेकोमा सन् २०३० सम्ममा ७० जनामा झार्ने लक्ष्य अनुरुप सरकारले यसखाले कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

