
क्रेजी संवाददाता
पथरी । वैशाख ३० मा सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मोरङको पथरी शनिश्चरे नगरपालिका क्षेत्रका मतदानस्थलहरुको मंगलबार निरीक्षण गरेको छ ।
नगरस्थित निर्वाचन कार्यालयका सहायक मतदान अधिकृत पूण्यप्रसाद पौडेलको अगुवाईमा इलाका नगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, लेखा अधिकृत पिताम्बर वस्ती, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी वेदप्रसाद गौतम सहितको टोलीले निरीक्षण गरेको हो । टोलीले मतदानस्थल, त्यहाँ निर्माण हुने मतदान केन्द्र र त्यसको व्यवस्थापनका बारेमा जानकारी लिएको छ ।
१० वडा रहेको नगरमा २० मतदानस्थल र त्यसैमा ५९ मतदान केन्द्र रहेका छन् । वडा नम्बर १ मा सबैभन्दा बढी ७ हजार ६ सय ७९ मतदाता छन् । २ मा ५ हजार ४५, ३ मा ५ हजार ३ सय ७३, ४ मा ५ हजार ६ सय ३७, ५ मा ४ हजार ३ सय ५६, ६ मा ४ हजार ८ सय २२, ७ मा ४ हजार ७३, ८ मा ४ हजार २ सय ९९, ९ मा ४ हजार ९ सय ७० र १० मा ५ हजार ७० जना गरी नगरमा कुल ५१ हजार ३ सय २४ मतदाता रहेको नगरको निर्वाचन कार्यालयले जनाएको छ ।

