'जनमतले मलाई पत्याएको छ, एक पटक जिताउनुहुनेछ' – राईं - Crazysaptahik.com

‘जनमतले मलाई पत्याएको छ, एक पटक जिताउनुहुनेछ’ – राईं

नेकपा एमाले पथरीशनिश्चरे वडा नं. ९ का उम्मेदवार भानुभक्त राईं २०४६ सालदेखि राजनीतिक क्षेत्रमा उदाएका हुन् । साविक शनिश्चरे गाविसका युवा संघ वडा कमिटी अध्यक्ष राईं यतिबेला पथरीशनिश्चरे नगरपालिका वडा नं. ९ का वडाध्यक्षका रूपमा मतदातासँग नियमित भेटघाटमा व्यस्त छन् ।

पालिकाभित्र दोहोरिएका उम्मेदवारमध्ये उम्दा उम्मेदवारको रूपमा चिनिन्छन् । आसन्न ३० गते हुने स्थानीय तह निर्वाचनको सन्दर्भमा वडाध्यक्ष राईंसँग गरिएका संवादका मुख्य अंशहरू :–

९ नं. वडामा तपाईको जित्ने आधारहरू के–के हुन् ?
– यहाँको जनतालाई सेवा दिएको छ, दुःखसुखमा सँगसँगै रहने गरेको छु, सामुदायिक विद्यालयमा उल्लेख्य काम गरेको छु, स्वास्थ्य सरोकारमा चासो लिने गरेको छु र कालोपत्रे निर्माणको प्रश्नमा अग्रता लिएको छु । यसबीचमा वडा कार्यालय भवन बनाएको छु, घर–घरमै गएर सामाजिक सुरक्षाभत्ता दिने गरेको छु, फुसको छानामुक्त अभियान चलाएको छु, शनिश्चरे बजार व्यवस्थापनमा टहरा निर्माण गरेको छु । मूलतः यही कारणले पनि स्थानीय जनमतले मलाई पत्याउने छ भन्ने लागेको छ ।

यसपाली दोहोरिने भएकाले तपाईंलाई कस्तो प्रतिक्रिया दिएका छन् ?
– विगतको कामको निरन्तरताका लागि पनि भानुभक्त हुनुपर्छ भनेका छन् भने कम्युनिष्ट आन्दोलन, यसप्रतिको इमान र निष्ठाको पक्षमा खह्रो उत्रिएका कारण पनि स्थानीय जनमतले मलाई चाहेको पुष्टि हुन्छ ।

तपाईंको कामको प्रथामिकता के हुन्छ ?
– अधुरा र अपूरा कामहरूलाई पूर्णता दिनेतर्फ मेरो ध्यान जाने छ । यो सँगसँगै प्रस्तावित योजनाहरूको वस्तुपरक कार्यान्वयनका लागि मेरो ध्यान जाने छ ।

र अन्त्यमा केही भन्नु छ कि ?
मेरो छुट्टै भन्नु केही छैन । किनभने मूलतः म एमालेको कार्यकर्ता हु, पार्टीको तर्फबाट प्रस्तावित एकजना उम्मेदवार मात्र हुँ । पार्टीले जेजस्तो जनमैत्री कार्यक्रम अघि सारेको छ, तदनुरूप कार्यान्वयनको पक्षमा दृढतापूर्वक उभिने छु । सधैँभरि राजनीतिक इमान, निष्ठा र सदाचारयुक्त जीवनशैली निर्माण गर्दैमा उभिइरहने छु । सूर्य ध्वजाबाहक उम्मेदवारहरूको पनि कुरा यहिँ हो । यसनिम्ति मतदान गर्नुहुन सम्पूर्ण मतदातासमक्ष सार्वजनिक ढंगले खुल्ला अपील गर्दछु ।

प्रस्तुति : भूमिप्रसाद पाठक

सम्बन्धित खवर