विभागीय टोली त्रिभुवन आर्मी क्लबले महिला भलिबलको इतिहासमै पहिलो पटक उपाधि जितेको छ । एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियन्ससिपको महिलातर्फको उपाधि आर्मीले जितेको हो ।
आर्मीले फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको छैटौं संस्करणको उपाधि आफ्नो पक्षमा पारेको छ । आर्मी र पुलिसको समान ९ अक भएपछि आर्मीले पुलिसभन्दा बढी सेट जितेका कारण उपाधि उचाल्न सफल भयो । आर्मी क्लबले पहिलो पटक महिला भलिबलको उपाधि जितेको हो ।
यसअघि आर्मी क्लबले कुनै राष्ट्रियस्तरको प्रतियोगिताको उपाधि जितेको थिएन । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न फाइनलमा आर्मीले पुलिसलाई २५–१८, २५–२३, २५–२० को सेटमा पराजित गर्यो ।
उपाधिसँगै आर्मीले ६ लाख रुपैयाँ प्राप्त गरेको छ । यस्तै, उपविजेता बनेको पुलिसले ३ लाख प्राप्त गरेको छ ।