'वडा नं. १ लाई समृद्ध वडा बनाउने भिजनहरू मसँग पर्याप्त छन्' – भीमकुमार राई - Crazysaptahik.com

‘वडा नं. १ लाई समृद्ध वडा बनाउने भिजनहरू मसँग पर्याप्त छन्’ – भीमकुमार राई

राजनीतिमा निष्ठावान, स्पष्टवक्ता, मिलनसार, निडर र सादगी स्वभावका धनी व्यक्तित्व हुन् भीमकुमार राई । २०३८ सालबाट साविक पथरीमा बसोबास सुरुवात गरेका राईले २०४६ सालबाट राजनीति सुरुवात गरेका हुन् । हरेकजसो सामाजिक अगुवाई, नेतृत्वदायी भूमिका निर्वाह गरेका राईले निरन्तर नेकपा एमालेमा सक्रियता देखाएका छन् । २०६८ मा पार्टी नेतृत्वमा आएका राई २०७० सालमा पथरीशनिश्चरे वडा कमिटीको अध्यक्ष जस्तो पदमा बसेर कार्यसम्पादन गरेको प्रशस्त अनुभव छ उनीसँग । यसैगरी २०७८ मा पथरीशनिश्चरेको नगर अधिवेशनबाट नगर सचिव जस्तो जिम्मेवार पद सम्हालिरहनुभएको छ । यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेकपा एमाले पथरीशनिश्चरे वडा नं. १ को वडा अध्यक्षका उम्मेद्वार राईसँग गरिएको संवादका मुख्य अंशहरू :–

चुनावी अभियान कस्तो चलिरहेको छ ?
– वैशाख ३० गते हुने निर्वाचनका लागि हाम्रो पार्टी नेकपा एमालेले तोकेको अनुसार घरदैलो कार्यक्रम भएकाले त्यसलाई निरन्तरता दिँदै आफ्ना पार्टी साथीहरु र सदस्यका उम्मेद्वारहरुसँग हिड्ने अभियान निरन्तर भइरहेको छ । त्यसकारण म चुनावी अभियानमै व्यस्त छु ।

वडा नं. १ मा तपाईको जितको आधारहरु के–के हुन् ?
– म, यो समाजमा २०४६ सालबाटै सामाजिक कार्यको अगुवाई गर्दै आइरहेको व्यक्ति हुँ । मेरो राजनीतिक यात्रा पनि २०४६ सालबाट नै आरम्भ गरेको हुँ । राजनीतिक चेतनाको विकास सँगसँगै सामाजिक कार्यमा मेरो योगदान महत्वपूर्ण रह्यो । समाजमा साह्रो गाह्रो, अपाङ्ग, वृद्ध वद्धालाई सरसहयोग गर्दै आइरहेको छु । कसैको अहित हुने काम गरेको छुइनँ सबैको हितको काम गरेको छु । म यही समाजको स्थापित व्यक्तित्व हुँ । त्यसमा पनि आध्यात्मिक चिन्तनबाट म उत्प्रेरित भएको छु । हरेक संघ संस्थामा उत्तिकै महत्वपूर्ण योगदान गर्दैै आइरहेको छु । समाजका हरेक तह–तप्कामा बसेर काम गरेको अनुभव पनि म सँग छ । त्यसमा पनि नैतिक आचरण, सम्हाल्न सक्ने कार्य सक्रिय रुपमा गर्दै आइरहेको सर्वविधितै छ । मैले आजसम्म कुनै पार्टीलाई आक्षेप पनि लगाएको छैन । एउटा शुद्ध मन, विचार, भावनासँग जोडिएर पार्टीको नीति, निर्देशनमा निष्ठावान भएर राजनीतिमा अगाडि बढेको म सामाजिक व्यक्तित्व हुँ । यसै वडाभित्र रहेका तमाम समस्याहरु मैले देखेको छु । ती समस्यहरुलाई मैले नजिकबाट नियालिरहेको छु । यसै वडाभित्र रहेका सामुदायिक विद्यालयको गुणस्तर, शिक्षा, प्राविधिक शिक्षा अझ परिष्कृत गर्दै लैजाने योजना छ । यस्तै स्वास्थ्यका कतिपय समस्याहरु छन्, रोजगारीका समस्याहरु छन् यिनीहरुलाई मसिनो गरी पहिचान गरी समाधान गर्ने हाम्रो योजना रहेको छ । विकास निर्माणमा रहेका जनताका तमाम समस्यालाई सम्वोधन गर्ने, बजार व्यवस्थापनलाई अझ व्यापक सुधार गर्दै लैजाने, बजार भित्र रहेका भित्री बाटोहरु र मूल बाटोलाई अझ व्यवस्थित ढंगले निर्माण गर्दै अघि बढ्ने । यस्तैगरी वडालाई समृद्ध वडा बनाउने भिजनहरु म सँग पर्याप्त छन् र जनताका जनसरोकारका समस्यासँग म भिजेका कारण पनि मेरो उम्मेद्वारी दिने आधार तय भएको हो ।

वडा नं. १ मा तपाईको जित निश्चित छ ?
– शनिबारको नेकपा एमालेको वृहत् जनलहर देख्दा मेरो जित सुनिश्चित नै छ । एमाले भित्रको विश्वास भरोसाले देखाएको र जनताले देखाएको सदाशयताका कारण मेरो विजय सम्भव देखेको छु । बाँकी त वडावासी आमा बुबा, दाजुभाइ, दिदीबहिनीहरुको आशिर्वादको साथमा भोटले नै मेरो जितको निश्चित गर्छ भन्ने मैले ठानेको छु ।

र, छुटेका कुरा भए राख्नुहोस् ?
– नेकपा एमाले पथरीशनिश्चरे वडा नं. १ को वडाध्यक्षको उम्मेद्वार भीमकुमार राई म यसै वडाको हावापानीमा भिजेको जुझेको छु । नयाँ सोच विचारको साथमा हामी समाजमा स्थापित व्यक्तित्वहरु उमेरका हिसावले वडा सदस्यका उम्मेद्वार अग्रज सुरेशकुमार कार्की ज्यू, अनुभवी र परिपक्क हुनुहुन्छ । त्यसैगरी अर्का वडा सदस्य मजदुर नेताको रुपमा बुलन्द आवाज गर्ने व्यक्ति हुनुहुन्छ पूर्णबहादुर कार्की । महिला सशक्तिकरणको खरो बहस गर्ने अगुवाई नेतृत्व गरिसक्नुभएकी वडा सदस्य बसुन्धरा गुरुङ पनि सदस्यका उम्मेद्वार बन्नुभएको छ, यसैगरी दलितको समस्या नजिकबाट पहिचान गर्ने आरती विक दलित सदस्यको रुपमा उठ्नुभएको छ । यी उल्लेखित उम्मेद्वारलाई वडा नं. १ का सम्पूर्ण वडावासीहरुले सूर्य चिन्हमा मतदान गरी विजयी गराइदिन हुन हार्दिक अपिल गर्दछु ।

– प्रस्तुति : भूमिप्रसाद पाठक

सम्बन्धित खवर