
पुराना टिनघर भएको सानो कच्ची घर । त्यहाँ भित्रका साघुँरा कोठाका भित्तामा समाजसेवामा लाग्दाका धेरै प्रशंसापत्रहरू
झुन्डिरहेका । पाहुना आउँदा पनि बसाइ मिलाउन मुस्किल पर्ने उही पथरीशनिश्चरे–२, शान्तिचौक नजिकै रहेको बासस्थानमा उमेरले पाँच दशकको यात्रा गर्दै गर्नुभएका नगरप्रमुख पदका उम्मेदवारले सादगी जीवन बिताइरहनु भएको देखिन्छ ।
असहजताभित्रै सहजताको खोजी गर्ने नेकपा एमालेबाट नगरप्रमुखको उम्मेदवार बन्नुभएका मोहनप्रसाद तुम्बापोले पहिरनमा पनि कुनै खास ‘पहिचान र व्यक्तित्व’ खोज्नुभएको छैन । केवल सुकिलो लुगा लगाउन रुचाउने तर राम्रो पहिरनको पछि नलाग्ने व्यक्तित्वका रूपमा मोहनप्रसादलाई चित्रण गर्नुमा कुनै अत्युक्ति नहोला ।
२०३८ सालदेखि भूमिगत सेल कमिटीमार्फत कम्युनिस्ट आस्था र आन्दोलनमा संलग्न हुँदा नै तुम्बापोले कम्युनिस्ट सिद्धान्तलाई व्यवहारमा उतार्ने प्रण गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘मैले गरिब र निमुखाको पक्षमा काम गर्ने हुँदा आफूभित्र पनि कहिल्यै बडप्पन आएनँ । पैसा कमाउनुपर्छ भन्ने कहिल्यै सोचिनँ । सच्चा कम्युनिस्ट पैसाको पछि लाग्दैन पनि ।’
वडा नं. ३ को सामाजिक वस्तीमा रहेको आफ्नो जीर्णावस्थाको मूल घरलाई सम्झँदै उम्मेदवार तुम्बापोले सन्तानलाई पढाउनका लागि पथरी आउनुको कुनै विकल्प नरहेको तत्कालीन परिस्थिति सुनाउनुभयो । उहाँले पथरीमा लामो समय डेरामा बसेर पछि धेरै दुःख गरी केवल घामपानीबाट बँच्ने हेतुले यो सानो घर बनाएको बताउनुभयो । ‘आफ्नो बसाइमा सुविधा खोज्नुभन्दा पनि अरूको दुःखमा सारथि बनेर हिँड्दाको आनन्द बेग्लै हुँदो रहेछ । अहिले पैसा नभए पनि मानवताको नाता राम्रो छ भन्ने ठानेको छु’– उम्मेदवार तुम्बापोले भन्नुभयो ।
२०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा तत्कालीन पथरी गाविसको ५ नम्बर वडाध्यक्ष र पथरी गाविस अध्यक्ष हुँदै निर्वाचित तुम्बापो आजसम्म पनि राजनीति र समाजसेवामा सक्रिय हुनुहुन्छ । प्रदेश १ कै लोकप्रिय एवम् जनप्रिय नेताहरूमध्ये अग्रपङ्क्तिमा पर्ने यस्ता सादगी व्यक्तित्व नगरप्रमुख (मेयर)का उम्मेदवार मोहनप्रसाद तुम्बापोले नगरको सर्वाङ्गीण विकास गर्नु नै प्रमुख लक्ष्य रहेको बताउनुभयो ।
आम पथरीशनिश्चरे नगरबासीको स्नेहबाट उपप्रमुख देवीमाया काफ्लेसहितको सूर्य ध्वजावाहक समग्र टिमले विजयप्राप्त गर्नेमा विश्वस्त रहनुभएका तुम्बापोले भौतिक विकासलाई मात्र आफूले विकास नठान्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘भौतिक विकास प्रत्यक्ष देखिएला तर त्यो आफैँमा अपूर्ण हुन्छ । त्यसैले यहाँका समग्र नगरवासीको सर्वाङ्गीण पक्षको विकास चाहिँ हामीले खोजेको वास्तविक विकास हो ।’
यसका लागि चेतनाको आधार मानिने औपचारिक एवम् अनौपचारिक शिक्षाको विकासलाई पहिलो प्राथमिकता दिइने बताउँदै तुम्बापोले समग्रमा पूर्ण भष्ट्राचाररहित कर्मचारीफाँट, सडक, यातायात, खानेपानी तथा ढल निकासको समुचित प्रबन्ध, नदी नियन्त्रण तथा तटबन्धन, श्रमिकको हित, कृषिक्षेत्रमा आधुनिकीकरण, जनस्वास्थ्यको अझ स्तरोन्नति, वातावरण तथा सरसफाइ, पर्यटन विकास, धार्मिक, सामाजिक तथा सांस्कृतिक उन्नयन, सहकारीको विकास र प्रवद्र्धन, कला, साहित्य तथा प्रतिभा प्रवर्धन, वैज्ञानिक बजार व्यवस्थापन, खेलकुद, ऊर्जा, सुशासन र पारदर्शिताको विकाससहित आर्थिक विकासका आधार खडा गर्ने योजना रहेको स्पष्ट पार्नुभयो । यी विकासका कार्यक्रम अविच्छिन्न रूपमा दिगो विकासको अवधारणाअनुरूप अघि बढ्ने उहाँको भनाइ छ ।

कैयौँ स्थानीय सरकार (पालिका) भ्रष्ट्राचारको चङ्गुलमा फँसिरहेका दृष्टान्तमाझ सादगी जीवनशैली एवम् तडकभडकरहित व्यवहार र पहिरनमा रमाउने नेकपा एमाले प्रदेश कमिटी सदस्य समेत रहनुभएका तुम्बापो पथरीशनिश्चरे नगरपालिकाको प्रमुखको उम्मेदवार हुनुले जितका लागि दर्बिलो आधार बन्ने देखिन्छ ।
यही आदर्श धरातलमा रहेको आफ्नो पार्टीबाट उम्मेदवारी दिनुहुने उपप्रमुख देवीमाया काफ्लेसहित सबै वडाध्यक्ष र सदस्यपदका उम्मेदवार विजय हुँदा शीघ्रातिशीघ्र नगरको सर्वाङ्गीण विकास हुने तुम्बापोको दाबी छ ।
प्रस्तुति : केशव निरौला

