क्रेजी संवाददाता
विराटनगर । निर्वाचनलाई लक्षित गरि जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार मध्यरातदेखि वैशाख ३० गते राति १२ बजेसम्मका लागि नेपाल–भारत सीमा बन्द गरेको छ ।
स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी सीमा नाका बन्द गरिएको हो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वतावरणमा सम्पन्न गर्न प्रदेश १ को इलाम, झापा, मोरङ र सुनसरी नाका बन्द गरिएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।
निर्वाचनको अघिल्लो दिनसम्म एम्बुलेन्स, शव बाहन, दमकल वैवाहिक प्रयोजनका लागि प्रयोग हुने सवारी साधन र पेट्रेलियम पदार्थ बोकेको गाडी आवतजावत् गर्न भने दिइने छ । मतदानको दिन वैशाख ३० गते भने नाकाबाट एम्बुलेन्स र दमकलबाहेक कुनै पनि सवारी साधन आवतजावत गर्न निषेध गरिएको छ ।
‘भारतसँग जोडिएका ४ वटा जिल्ला इलाम, झापा, मोरङ र सुनसरीका नाका ७२ घण्टा बन्द रहन्छ,’ प्रदेश १ का प्रहरी प्रमुख अरुणकुमार बिसीले भने, ‘अति आवश्यक काम परेकाहरु भारत जान पाउँछन्, तर नेपाल आउन पाउँदैनन् ।’
निर्वाचन प्रयोजनकै लागि मंगलबार रातिदेखि स्थानीय प्रशासनले मादक पदार्थ बिक्री वितरण एवं सेवनसमेत निषेध गरेको छ । निर्वाचन परिणाम घोषणा नभएसम्मका लागि मोरङभर मादकपदार्थको ओसारप्रसार, बिक्री वितरण र सेवन कार्य निषेध गरिएको प्रशासन कार्यालयले जनाएको छ । आदेश बर्खिलाप भएको पाइए कानुन बमोजिम कारबाही हुने मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले चेतावनी दिएका छन् ।