पथरीशनिश्चरेको वडा वडामा पदभारग्रहण गरी कार्य सुरु - Crazysaptahik.com

पथरीशनिश्चरेको वडा वडामा पदभारग्रहण गरी कार्य सुरु

क्रेजी संवाददाता

पथरी । मोरङको पथरी शनिश्चरे नगरमा स्थानीय तहको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुले वडा वडामा पदभार ग्रहण गरी कार्यालयको दैनिक काम थालेका छन् ।

नवनिर्वाचित नगर प्रमुख मोहनप्रसाद तुम्वापोले उपप्रमुख देवीमाया काफ्ले सहित वडाध्यक्षलाई सपथ ग्रहण गराएपछि नगर प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष र सदस्यहरुले आफ्नो कार्यआरम्भ सुरु गरेका हुन् ।

यस क्रममा आज वडा नम्बर २ र १० लगायतका वडामा निवर्तमान पदाधिकारीहरुले नवनिर्वाचित पदाधिकारीहरुलाई आफ्नो पद हस्तान्तरण गरेका छन् । वडा वडामा स्वागत तथा विदाई कार्यक्रमहरु भएका छन् ।

वडा नम्बर २ का निवर्तमान अध्यक्ष यामप्रसाद गुरागाईंले नवनिर्वाचित अध्यक्ष नैना राईलाई पद हस्तान्तरण गर्नुभयो ।

वडा नम्बर १० का निवर्तमान अध्यक्ष सागर राईले नवनिर्वाचित अध्यक्ष जीवन खतिवडालाई पदहस्तान्तरण गरेपछि उहाँले आफ्नो कार्यालयको दैनिक काम थाल्नु भएको छ । कार्यक्रममा बोल्दै अध्यक्ष खतिवडाले आफुसँग निर्वाचनमा प्रतिष्पर्धीहरुको समेत भावनालाई ख्याल गरेर दल भन्दा माथि उठेर निष्पक्ष र पारदर्शी रुपमा काम कारबाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

निवर्तमान वडाध्यक्ष सागर राईले आफ्नो अगुवाईको कार्यकालमा भएका कामका बारेमा जानकारी गराउनु भयो । कार्यक्रममा, नेकपा एमालेका हिमालय थापा (पर्वत), नेपाली कांग्रेसका अर्जुन पोखरेल, माओवादी केन्द्रका रमेश राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका श्रीप्रसाद काङवाले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

यस्तैगरी वडा नं. ३, ४, ५ र ९ मा पदभार ग्रहण गरी कार्य सुचारु गरिएको छ ।

सम्बन्धित खवर