बर्दिबासमा इनार सुकेपछि पिउने पानीको हाहाकार - Crazysaptahik.com

बर्दिबासमा इनार सुकेपछि पिउने पानीको हाहाकार


क्रेजी संवादाता ।

महोत्तरीको बर्दिबास पशुपतिनगरका किसुन्देव महतो आफ्नो घर नजिकैको इनार सुकेपछि खानेपानी लिन दैनिक एक किलोमिटर ओहोरदोहोर गर्दछन् । इनारकै भरमा खेतीपातीसमेत गर्दै आएका महतोले हिजोआज तरकारी मात्र हैन पानीकै अभावले अन्य खेतीपाती समेत गर्न पाएका छैनन् ।

पानीको समस्या समाधान नगरेपछि उनी जनप्रतिनिधिप्रति आक्रोशित छन् । ‘पानी खुवाउने विषयलाई नै एजेण्डा बनाएर चुनाव जितेका जनप्रतिनिधिको कार्यकाल पनि एक वर्ष हुन लागिसक्यो ।

तर, खानेपानीको व्यवस्था गर्ने योजनासमेत उनीहरूले भुले,’ महतोले गुनासो गरे । किसुनदेव महतोको जस्तै पशुपतिनगरका यतिबेला धेरै स्थानीयहरूलाइ पानी कता पाइन्छ भन्ने चिन्ता थपिँदै गएको छ ।

झण्डै ६ हजार जनसंख्या भएको पशुपतिनगरमा १५० को हाराहारीमा इनार छन् । तर, लामो समयसम्म खडेरी पर्दा आधाभन्दा बढी इनारहरू सुकिसकेका छन् । बाँकी रहेका इनारहरू पनि धमाधम सुकिरहेको स्थानीयहरू बताउँछन ।

पानीको चरम समस्या बढिरहँदा पनि स्थानिय सरकारले खासै ध्यान नदिएको उनीहरूको गुनासो छ । ‘निर्वाचनमा जनप्रतिनिधिहरूले जनाएको प्रतिबद्धता सबै भुले जस्ले गर्दा नेताहरूप्रतिको अविश्वास बढ्दै गएको छ,’ स्थानीय राममुरत महतोले भने ।

खानेपानीको मुख्य आधार मानिएको इनारहरू नै धमाधम सुक्न थालेपछि विकल्पहरूको विषयमा खोजी नहुँदा स्थानीयहरू आतिन थालेका छन् । नेपाली कांग्रेसबाट बागी बनेर स्वतन्त्रको नाममा जितेकी उपमेयर यसै वडाकी हुन् भने वडा अध्यक्षमा लोसपावाट घुरन महतोले जितेका हुन् ।

साविकको वडा न.४ राख्याल टोलमा एउटा इनारको मुहान छ । जहाँबाट वरपरका बस्तीका लागि पाइपलाइन बिछ्याएर पानी ल्याउन सक्ने आधारहरू भए पनि सरोकारवाला निकायको बेवास्ताले समस्या थप बन्दै गएको राममुरतले बताए ।

बजरङ्ग जल उपभोक्ता समितिले सञ्चालन गरेको पशुपतिनगरकै झोक्ले टोलमा अन्य इनारको तुलनामा पानी कम सुक्ने गर्छ । अहिले यहाँका स्थानीयहरूले यहीँ पानी उपभोग गरिरहेका छन् । अन्य ठाउँका स्थानियहरू यहाँ आइपुग्न ३ किलोमिटरसम्म हिड्नुपर्ने हुन्छ ।

पशुपतिनगरमा माघदेखि इनार सुक्न थालेपछि धेरैजसो किसानहरूलाई सिँचाइको झन् ठूलो समस्या बन्दै गएको देवकुमार सिंह बताउँछन् । सिँचाइको समस्या बन्दै गएपछि किसान खेतीबाट पलायन हुनुपर्ने अवस्था सिर्जना बन्दै गएको छ ।

साविकको वडा न.४ मा रहेको इनारबाट पाइपलाइन बिछ्याएर वितरण गर्ने भनिएको योजना १० बर्ष बितिसक्यो । यो वडामा रहेका चारवटा बोरिङलाई चलाउन सकिएमा पनि केहीहदसम्म पानीको समस्या समाधान हुने स्थानीय बताउँछन् ।

देवकुमार सिंहका अनुसार पूर्व नगरप्रमुख बिदुर कार्कीले घर–घरमा पानी पु¥याउने उद्देश्यले २८ लाख विनियोजित गरेका थिए । ‘तर कहाँ, कसरी काम भयो भन्ने समेत थाहा पाउन सकिएन,’ उनले भने ।

पशुपतिनगरमा पानी नसुक्ने इनार ब्रह्माथानको इनार बनेको छ । वरपरका स्थानीयले दुःख गरेर भए पनि यही इनारलाइ प्रयोग गरिरहेको जलेश्वरी महतो बताउँछिन ।

सम्बन्धित खवर