जब नेपालले भारतलाई हराएको थियो - Crazysaptahik.com

जब नेपालले भारतलाई हराएको थियो

सन् २०२३ को एसिया कपमा छनोटका लागि नेपाल मात्र एक कदम टाढा रहेको छ । सोमबार हुने एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई पराजित गरे नेपाल एसिया कपका लागि छनोट हुनेछ । छनोट भए नेपाल आयोजक पाकिस्तान र भारतसँगै समूह एमा रहनेछ ।

नेपालले यसअघि सिनियर एसिया कपमा सहभागिता जनाएको छैन । तर, अन्डर–१९ एसिया कपमा भने नेपालले सहभागिता जनाएको छ । अझ सन् २०१७ मा एसीसी अन्डर–१९ एसिया कपबारे नेपालको सुखद सम्झना रहेको छ ।

क्वाललम्पुरमा भएको सो प्रतियोगितामा नेपालले महारथी भारतलाई स्तब्ध बनाएको थियो । प्रतियोगितामा आफ्नो दोस्रो खेलमा नेपाल १९ रनले विजयी भएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा १८५ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रेको भारत ४८.१ ओभरमा सबै विकेट गुमाउँदै १६६ रनमा सीमित बनेको थियो । खेलमा कप्तान रहेका दीपेन्द्र सिंह ऐरी नेपालका लागि नायक बनेका थिए । उनले ८८ रन बनाउनुका साथै ४ विकेट लिएका थिए ।

त्यस्तै, दुईवटा क्याच पनि लिन सफल भएका थिए ।भारतलाई हराउने त्यो अन्डर–१९ टोलीका धेरै सदस्य अहिले नेपालको सिनियर टोलीमा खेलिरहेका छन् । जसमा ऐरीसहित, आशिफ शेख, रोहित पौडेल, भीम सार्की, सन्दीप लामिछानेलगायत छन् ।

रोचक कुरा, त्यतिबेला नेपालले हराएको भारतको अन्डर–१९ टोलीका प्रशिक्षक राहुल द्रविड थिए । अहिले तिनै द्रविड भारतको सिनियर टोलीका प्रशिक्षक रहेका छन् । त्यतिबेला द्रविड आफै नेपाली टोली कहाँ पुगेर बधाई दिएका थिए ।

तत्कालीन नेपालका प्रशिक्षक विनोद दासका अनुसार द्रविड आएर नेपाल जीतको हकदार भएको बताउँदै बधाई दिएका थिए । सो प्रतियोगितामा नेपाल सेमिफाइनलसम्म पुगेको थियो । जहाँ टोली त्यतिबेला विजेता बनेको अफगानिस्तानसँग पराजित हुन पुगेको थियो ।

सम्बन्धित खवर