सात गोलको थ्रिलरमा लिभरपुल विजयी - Crazysaptahik.com

सात गोलको थ्रिलरमा लिभरपुल विजयी


नाटकीय खेलको इन्जुरी समयमा डिओगो जोटाले गोल गरेपछि लिभरपुलले सात गोलको थ्रिलरमा टोटनहम हटस्पर्सलाई ४–३ गोलले पराजित गरेको छ । आइतबार राति भएको खेलमा स्पर्स खेलको सुरुवाती १५ मिनेटमा तीन गोलले पछि परेको थियो ।

कर्टिस जोन्स, लुइस डियाज र मोहमद शालाहले एक–एक गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । ३९ औँ मिनेटमा ह्यारी केनले स्पर्सका लागि एक गोल फर्काए । दोस्रो हाफको ७७ औँ मिनेटमा सन ह्युङ मिनले गोल गर्दै लिभरपुलको अग्रता कम गरे ।

इन्जुरी समयको ९३ औँ मिनेटमा रिचार्लिसनले स्पर्सका लागि बराबरी गोल गरे । खेल बराबरीमा सकिने सबैले अपेक्षा गरिरहँदा जोटाले ९४ औँ मिनेटमा गोल गर्दै लिभरपुललाई जीत दिलाए । जीतपछि लिभरपुल लिगको पाँचौँ स्थानमा उक्लिएको छ ।

स्पर्स भने छैटौँ स्थानमा खस्किएको छ ।उता, ब्रुनो फर्नान्डेजको १ सयौँ करियर गोलको मद्दतले म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लाको १० खेलको अपराजित यात्रामा पूर्णविराम लगाएको छ ।

जीतसँगै युनाइटेडले आगामी सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ । ३२ खेलबाट ६३ अङ्क बटुल्दै युनाइटेड लिगको चौथो स्थानमा छ ।

सम्बन्धित खवर