खुला टेनिसको उपाधि अभिषेक र अभिलाषाको पोल्टामा - Crazysaptahik.com

खुला टेनिसको उपाधि अभिषेक र अभिलाषाको पोल्टामा

‘नवौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता’ को उपाधि सोमबार अभिषेक बाँस्तोला र अभिलाषा विष्टले जितेका छन् । प्रतियोगिताको पुरुष एकलतर्फ अभिषेक र महिला एकलतर्फ अभिलाषा च्याम्पियन बनेका हुन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को टेनिस कोर्टमा भएको पुरुषतर्फको फाइनल खेलमा अभिषेकले ऋतिक राणालाई ६–० र ६–१ को सोझो सेटमा पराजित गरे । सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित उक्त प्रतियोगिताको महिला एकलतर्फको उपाधि भिडन्तमा राष्ट्रिय च्याम्पियन अभिलाषाले माहिका राणालाई ६–४ र ६–४ को सोझो सेटमा पराजित गरिन् ।

पुरुष र महिला एकल स्पर्धामा पहिलो हुने खेलाडीले ५० हजार र दोश्रो हुने खेलाडीले २५ हजार रुपैयाँ नगद पुरस्कार पाए । भेट्रानतर्फ ४५ वर्षमाथिको पुरुष डबल्स स्पर्धामा चन्द्र शाही र डेगेन्द्र श्रेष्ठको जोडी पहिलो भयो ।

उक्त जोडीले फाइनलमा सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडीलाई ५–७, ६–१ र १०–५ ले पाखा लगायो । भेट्रानतर्फ ५५ वर्षमाथि पुरुष डबल्स स्पर्धामा कृष्णराज घले र सुवर्ण धाक्वाको जोडी च्याम्पियन बन्यो ।

उक्त जोडीले फाइनलमा कमल थापा र छ्याम्बा डुन्डुपको जोडीमाथि ६–० र ६–२ को सहज जित दर्ता गयो । यसैगरी भेट्रानतर्फ ५५ वर्षमाथि पुरुष एकलमा जीवन घिमिरे शीर्ष स्थानमा रहे । जीवनले फाइनलमा जित प्रधानलाई ६–२ र ६–३ अंकले हराए ।

४५ वर्षमाथि पुरुष एकलको स्वर्ण भिडन्तमा महेश श्रेष्ठले बाजी मारे । उनले फाइनलमा रोहित सुनुवारलाई ६–४, ४–६ र १०–५ अंकले पन्छाए ।

विभिन्न १० स्पर्धा समावेश गरिएको उक्त प्रतियोगितामा यसअघि मिक्स डबल्समा प्रदीप खड्का र माहिका राणा, ३५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी, ३५ वर्षमाथि पुरुष डबल्समा पूर्वराष्ट्रिय च्याम्पियन जितेन्द्र परियार र सुवर्ण धाक्वाको जोडी तथा ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापा पहिलो भएका थिए ।

हरेक स्पर्धाको शीर्ष तीन स्थान हात पार्ने खेलाडीले नगद पुरस्कार हात पारे । कुल ५ लाख ४२ हजार ५ सय रुपैयाँ नगद पुरस्कार वितरण गरिएको थियो । विजेतालाई राखेपका सदस्यसचिव टंकलाल घिसिङ, सिटिजन्स बैंकका अध्यक्ष राजनसिंह भण्डारी, नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, नेपाल टेनिस संघका महासचिवसमेत रहेका आयोजक काठमाडौं जिल्ला टेनिस संघका अध्यक्ष मनोहरदास मुललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

बैशाख १२ गतेदेखि सुरु भएको प्रतियोगितामा १ सय ५२ जना खेलाडी सहभागी थिए । सबैभन्दा बढी उमेरका खेलाडी ७८ वर्षीय मुरारीभक्त माथेमा थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.