सुरु हुँदै रारा फुटबल प्रतियोगिता - Crazysaptahik.com

सुरु हुँदै रारा फुटबल प्रतियोगिता

धनकुटाको चौबिसे गाउँपालिकास्थित राजारानीमा सञ्चालन हुँदै आएको १०औँ रारा कप फुटबल प्रतियोगिता यही वैशाख २२ गतेदेखि सुरु हुने भएको छ । जिल्लाको दोस्रो ठूलो यस फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था रारा (राजारानी) फुटबल क्लब धनकुटाले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

चण्डी पूर्णिमाको अवसर पारेर यही वैशाख २८ गतेसम्म राजारानी खेल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालभरिका उत्कृष्ट तथा ए डिभिजन फुटबल टोलीको सहभागिता रहनेछ । गोर्खा ब्रअरीको प्रायोजन तथा चौबिसे गाउँपालिकाको सहयोगमा सम्पन्न हुन लागेको उक्त प्रतियोगितामा आठ फुटबल टोलीको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष मणि लिम्बूले जानकारी दिए ।

रु ३६ लाख ५० हजारको अनुमानित खर्चमा सम्पन्न हुन लागेको उक्त प्रतियोगिताका बिजेताले नगद तीन लाखसहित शिल्ड पाउनेछ । त्यस्तै दोस्रो हुने टोलीले नगद रु एक लाख ५० हजार नगद पाउने आयोजक संस्थाका सचिव युवराज कटुवालले जानकारी दिए ।

विसं २०५८ देखि सञ्चालनमा आएको यस प्रतियोगिताले खेल पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुर्याउने गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले बताए । हरेक वडामा खेल मैदान रहेको यस गाउँपालिकालाई फुटबलको क्षेत्रमा राष्ट्रिय खेलाडी उत्पादन गर्ने थलोका रुपमा धनकुटा जिल्लामा परिचित छ ।

नेपालका नम्बर एक गोलकिप्पर किरण चेम्जोङ्ग, ए डिभिजनका खेलाडीहरू बुद्ध चेम्जोङ्ग, अनुप लिम्बू, सिर्जना चेम्जोङ्ग, अण्डर १७ मा खेल्ने धीरज विश्वकर्मा, राष्ट्रिय रेफ्री तुफान चेम्जोङ्ग यसै चौबिसे गाउँपालिका क्षेत्रका उत्पादन हुन् ।

सम्बन्धित खवर