गुजरातमाथि दिल्लीको रोमाञ्चक जित - Crazysaptahik.com

गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको मंगलबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्समाथि ५ रनको रोमाञ्चक जित हासिल गरेको छ । आईपीएल अंक तालिकामा दिल्ली सबैभन्दा तल र गुजरात सबैभन्दा माथि रहेको टोली हो ।

गुजरातको घरेलु मैदानमा भएको उक्त खेलमा दिल्लीले पहिलो ब्याटिङ गर्दै निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको बलियो गुजरातले भने निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय २५ रनमात्र बनाउन सक्यो ।

जारी प्रतियोगितामा दिल्लीको यो तेस्रो जित हो भने गुजरातको तेस्रो हार हो । टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीका लागि अमन हकिम खानले सर्वाधिक ५१ रनको योगदान गरेका थिए । उनले ४४ बलको सामना गरी ३ छक्का र ३ चौका हिर्काएका थिए ।

खराब सुरुआत गरेको दिल्लीले केवल २३ रनको कुल स्कोरमा आफ्ना ५ जना प्रभावशाली ब्याट्सम्यान गुमाएको थियो । गुजरातका बलर मोहम्मद शामी दिल्लीका ब्याट्सम्यानका लागि घातक बनेका थिए ।

उनले केवल ४ ओभरमा ११ रन खर्चिएर ४ विकेट लिएका थिए । अमन हकिम खानले अक्षर पटेलसँग ५० रनको साझेदारी गरेका थिए । अक्षरले पनि २७ रन बनाएका थिए । रिपाल पटेलले २३ रनको योगदान गरे ।

गुजरातका लागि शामीका अतिरिक्त मोहित शर्माले २ तथा रासिद खानले १ विकेट लिए ।जवाफी ब्याटिङमा उत्रेको गुजरातका लागि भने कप्तान हार्किद पाण्डेयले अविजित सर्वाधिक ५९ रन बनाए । उनले ५३ बलको सामना गरी ७ चौका प्रहार गरे ।

अभिनव मनोहरले पनि २६ रन जोडे । राहुल तेवाटियाले २० रन बनाए । गजुरातलाई जितसम्म पुग्न नदिन दिल्लीका बलर खलिल अहमद र इशान्त शर्माले २\२ विकेट लिए । एनरिक नोर्जे र कुलदिप यादवले १–१ विकेट लिए ।

सम्बन्धित खवर