रियललाई उछिन्यो एट्लेटिकोले - Crazysaptahik.com

रियललाई उछिन्यो एट्लेटिकोले

स्पेनिस ला लिगा तालिकामा एट्लेटिको म्याड्रिडले रियल म्याड्रिडलाई उछिनेको छ । एट्लेटिको म्याड्रिड बुधबार राति खेलिएको खेलमा सफलता हात पार्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।

एट्लेटिको म्याड्रिडले आफ्नो पछिल्लो खेलमा काडिजलाई ५–१ गोलको फराकिलो अन्तरले हराएको हो । एकपक्षीय खेलमा एट्लेटिको म्याड्रिडका लागि एन्टोइन ग्रिजम्यानले २ गोलको योगदान गरे ।

खेल सुरु भएको दोस्रो मिनेटमै गोल गरेका ग्रिजम्यानले २७ औं मिनेटमा अर्को गोल थपेका थिए । यसैगरी टोलीको जितमा अल्भारो मोराटा, यानिक कारास्को र नाहुएल मोलिनाले पनि १–१ गोलको योगदान गरे ।

मोराटाले ४९औं, यानिकले ५७औं र मोलिनाले ७३औं मिनेटमा गोल गरेका हुन् । काडिजका एन्थोनी लोजानोले ७२औं मिनेटमा १ गोल फर्काएका थिए । जितसँगै एट्लेटिको म्याड्रिडले ३३ खेलबाट ६९ अंक जोडेको छ ।

रियल म्याड्रिड तालिकाको तेस्रो स्थानमा झरेको छ । रियल म्याड्रिडले ३३ खेलबाट ६८ अंक बटुलेको छ । काडिज भने ३५ अंक जोडेर १५औं स्थानमा रहेको छ । ला लिगा तालिकाको पहिलो स्थानमा भने बार्सिलोना रहेको छ ।

बार्सिलोनाले ३३ खेलबाट ८२ अंक बटुलेको छ । ला लिगामा अब सबै टोलीले ५–५ खेल खेल्न बाँकी छ । बुधबार राति नै भएको अर्को खेलमा गेटाफेले सेल्टा भिगोलाई १–० गोलले हरायो । गेटाफेका लागि एन्स युनलले तेस्रो मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरेका थिए ।

सम्बन्धित खवर