आईपीएल क्रिकेट : कोलकातासँग पाँच रनले हार्यो हैदराबाद - Crazysaptahik.com

आईपीएल क्रिकेट : कोलकातासँग पाँच रनले हार्यो हैदराबाद

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको बिहीबार राति खेलिएको खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादमाथि ५ रनको रोमाञ्चक जित हासिल गरेको छ । टस जिती पहिलो ब्याटिङको निर्णय लिएको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको हैदराबादले भने निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ६६ रनमात्र बनाउन सक्यो ।पहिलो ब्याटिङ गरेको कोलकाताका लागि रिंकु सिंहले सर्वाधिक ४६ रनको योगदान गरे ।

उनले ३५ बलको सामना गरी १ छक्का र ४ चौका पनि हिर्काए । कप्तान नितिष राणाले ४२ रन बनाए । ३१ बलको सामना गरेका नितिषले ३ छक्का र ३ चौका प्रहार गरे । कोलकाताका लागि आन्द्रे रसेलले पनि २४ रन बनाए ।

ओपनर जासन रोय २० रन बनाउँदै पेभेलियन फर्किए । यसदेखि वाहेक अनुकुल रोयले (अविजित १३ रन) मात्र दोहोरो सँख्यामा रन बनाउन सके । हैदराबादका बलर मार्को जन्सन र थांगारासु नटरंजनले २–२ विकेट लिए ।

जवाफी ब्याटिङमा ओर्लिएको हैदराबादका लागि कप्तान आइडेन मरक्रमले सर्वाधिक ४१ रन बनाए । हेनरिच क्लासेनले ३६ रन जोडे । अब्दुल समादले २१ रन बटुले । राहुल त्रिपाठी २० रनमा आउट भए ।

ओपनर मायांक अग्रवालले १८ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो सँख्यामा रन बनाउन सकेनन् । हैदराबादले अतिरिक्त रुपमा १४ रन पाएको थियो । कोलकाताका बलर वैभव अरोरा र सार्दुल ठाकुरले २\२ विकेट लिए ।

उक्त खेलमा कोलकाताका वरुण म्यान अफ दि म्याच घोषित भए । उनले १ विकेट लिएका थिए । हालसम्म १० खेल खेलेको कोलकाता ८ अंकसहित आठौं स्थानमा छ ।

हैदराबाद भने ९ खेलबाट ६ अंक जोड्दै तालिकाको नवौं स्थानमा आसिन छ । ९ खेलबाट १२ अंक बटुलेको गुजरात टाइटन्स तालिकाको पहिलो स्थानमा छ ।

सम्बन्धित खवर