साल्टको आक्रामक ब्याटिङमा दिल्लीको सजिलो जित - Crazysaptahik.com

साल्टको आक्रामक ब्याटिङमा दिल्लीको सजिलो जित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पछिल्लो खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । दिल्लीले शनिबार राति खेलिएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजित गर्यो ।

ओपनर फिल साल्टले आक्रामक ब्याटिङ गरेपछि दिल्लीको सहज जित सम्भव भएको थियो । टस जिति पहिलो ब्याटिङको निर्णय लिएको बैंगलोरले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको दिल्लीले १६.४ ओभरमै केवल ३ विकेट गुमाएर १ सय ८७ रन बनाउँदै विजयलक्ष्य पार गर्यो । जारी सिजनको आईपीएलमा यो ५०औं खेल थियो ।

घरेलु मैदानमा खेलिएको खेलमा दिल्लीलाई सजिलो जित दिलाउन ओपनर साल्टले ८७ रनको योगदान गरे । प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका साल्टले केवल ४५ बलको सामना गरी ६ छक्का र ८ चौका प्रहार गरेका थिए ।

अर्का ओपनर डेविड वार्नर भने २२ रन बनाउँदै पेभेलियन फर्किएका थिए । कप्तान वार्नरले १४ बलमा १ छक्का ३ चौका हिर्काएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका मिचेल मार्सले १७ बलको सामना गरी १ छक्का र ३ चौकाको मद्दतले २६ रनको योगदान गरे ।

यसैगरी रिली रोसोउले अविजित ३५ रन बनाए । उनले २२ बलमा ३ छक्का र १ चौका प्रहार गरे । अक्षर पटेल ८ रनमा अविजित रहे । बैंगलोरका बलर हर्षल पटेल, कर्ण शर्मा र जस हेजलउडले १–१ विकेट लिए ।

त्यसअघि पहिलो ब्याटिङ रोजेको बैंगलोरका लागि महिपाल लोमरर र विराट कोहलीले आकर्षक अर्धशतकीय पाली खेलेका थिए । तर, उनीहरुको अर्धशतक टोलीको जितका लागि पर्याप्त भएन । महिपालले अविजित ५४ रन बनाए । उनले २९ बलमा ३ छक्का र ६ चौका हिर्काए । उनले जारी आईपीएलमा बनाएको यो पहिलो अर्धशतक हो ।

ओपनर कोहलीले पनि ५५ रन बनाए । उनले ४६ बलमा ५ चौका हिर्काए । कोहली र कप्तान फाफ डु प्लेसिसले ओपनिङ विकेटका लागि ८२ रनको साझेदारी गरेका थिए । प्लेसिसले ३२ बलको सामना गरी १ छक्का र ५ चौकाको मद्दतले ४५ रन जोडेका थिए ।

दिल्लीका बलर मिचेल मार्सले २ विकेट लिए । मुकेश कुमार र खलिल अहमदले पनि १–१ विकेट हात पारे । उक्त खेलमा दिल्लीका साल्ट म्यान अफ दि म्याच घोषित भए । दिल्ली १० खेलबाट ८ अंक बटुल्दै तालिकाको नवौं स्थानमा छ ।

बैंगलोर भने १० खेलबाट १० अंक जोड्दै तालिकाको पाँचौं स्थानमा छ । शनिबार नै भएको अर्को खेलमा चेन्नई सुपर किङ्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले हराएको थियो ।

सम्बन्धित खवर