सिटीलाई पछ्याउँदै आर्सनल - Crazysaptahik.com

सिटीलाई पछ्याउँदै आर्सनल

इङ्लिस प्रिमियर लिग फुटबलको आफ्नो पछिल्लो खेलमा आर्सनलले सफलता हात पारेको छ । आर्सनलले आइतबार राति भएको खेलमा न्युक्यासललाई उसैको घरेलु मैदानमा २–० गोलले हराएको हो ।

जितसँगै आर्सनलले लिग लिडर म्यानचेस्टर सिटीसँगको अङ्क दूरी पनि घटाएको छ । यद्यपि, आर्सनलले सिटीभन्दा एक खेल बढी खेलेको छ । आर्सनलको जितमा मार्टिन ओडेगार्ड एक गोल गरे ।

खेल सुरु भएको १४औँ मिनेटमै उनले आर्सनललाई अग्रता दिएका थिए । उनले जोर्गिन्होको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए ।आर्सनलले एउटा आत्मघाती गोल उपहार पाएको थियो ।

निर्धारित समयको ७१औँ मिनेटमा न्युक्यासलका फाबियन शारबाट आत्मघाती गोल भएको थियो । जितसँगै आर्सनलले आफूलाई प्रिमियर लिगको उपाधि होडमा कायम राखेको छ । आर्सनलले तालिकाको शीर्ष स्थानमा आसिन म्यान सिटीसँगको दूरी १ अङ्कमा झारेको छ ।

तालिकाको शीर्ष स्थानमा आसिन म्यान सिटीले ३४ खेलबाट ८२ अङ्क बटुलेको छ । आर्सनलले भने ३५ खेलबाट ८१ अङ्क जोडेको छ । पराजित टोली न्युक्यासल भने ६५ अङ्कसहित तालिकाको तेस्रो स्थानमा यथावत् छ । न्युक्यासलले हालसम्म ३४ खेल खेलेको छ ।

सम्बन्धित खवर