गर्मी याममा सबैले रुचाउने फल हो खर्बुजा । शरीरलाई हाइड्रेट राख्न खर्बुजालाई सबैभन्दा उपयुक्त फल मानिन्छ । यसले शरीरमा पानीको कमी हुन दिंदैन । र सरिलाई थण्डा राख्छ । अहिलेसम्म तपाईंले खर्बुजा र यसबाट बन्ने जुस मात्रै खानुभएको होला ? सुन्दा अनौठो लाग्न सक्छ, तर यो सत्य हो । ताछेर फालिने खर्बुजाको सेतो भागबाट हामीले स्वादिष्ट अचार बनाउन सक्छौ ।
सेतो भागको अचार नबनाइ खाँदा पनि त्यसमा पाइने फाइबरजस्ता पोषक तत्वले शरीरलाई फाइदा पनि गर्छ । यसको अचारले जिब्रोलाई त स्वादिलो बनाउछ नै, शरीरलाई पनि फाइदा गर्छ ।
अब खुल्दुली सुरु भयो होला ? आउनुस् अब चर्चा गरौँ….
कसरी बनाउने त खर्बुजाको बोक्राबाट अचार ?
सामग्रीहरुः
खर्बुजाको बोक्राको सेतो भाग – ५०० ग्राम
हरियो खुर्सानी – ४ पिस
कागतीको रस या लप्सीको धुलो – २० ग्राम
नुन – स्वादअनुसार
भुटेको तिलको धुलो – २ चियाचम्चा
बेसार – आधा चियाचम्चा
खुर्सानीको धुलो – आधा चियाचम्चा
तोरीको तेल – ३ चम्चा
ताजा धनियाँ – ३ चम्चा
काटेको प्याज– आधा टुक्रा
मेथी – आधा चियाचम्चा
बनाउने विधि
–खर्बुजाको बोक्रालाई ताछेर हरियो भाग निकालेर सेतो भागलाई लाम्चो मसिनो पारेर काट्ने वा कोरेसोले कोर्ने ।
–सेतो भागमा हुने पानी निचोरेर सुख्खा बनाउने । त्यसपछि थोरै नुन हालेर मोल्ने र १५ मिनेट त्यत्तिकै छोपेर राख्ने । अब तयार पारेर राखेको बाँकी नुन, अमिलो, प्याज, तिलको धुलो र खुर्सानीको धुलो हालेर पुनः मोल्ने ।
–त्यसपछि तोरीको तेल तताएर मेथी पड्काउने र कालो हुनासाथ चिरेर राखेको हरियो खुर्सानी, बेसार हालेर झान्ने (टड्का दिने) । त्यसपछि राम्रोसँग मोल्ने अनि स्वादिष्ट खर्बुजाको अचार तयार हुन्छ ।
अब यसलाई खाजा र खानामा अचारको रुपमा खान सकिन्छ ।