रेडस्टारमा साकेला सिली कार्यक्रम - Crazysaptahik.com

रेडस्टारमा साकेला सिली कार्यक्रम

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे–२ शान्ति चौकमा अवस्थित रहेको रेडस्टर माध्यमिक विद्यालयले बुद्ध पूर्णिमा तथा किरात जातिहरूको महान पर्व उभौलीको अवसरमा साकेला सिली कार्यक्रमको आयोजना गरेको छ ।
भोलिदेखि सुरुवात हुने बुद्ध पूर्णिमा तथा किरात जातिहरूको महान पर्व उभौलीको पूर्वसन्ध्यामा विद्यालयले आज आफ्नो प्राङ्गणमा सो कार्यक्रमको आयोजना गरेको हो ।
साँस्कृतिक तथा धार्मिक सहिष्णुता सहित यले सम्वत ५०८४ को पावन अवसरमा शुभकामना प्रदान गर्ने हेतुले आयोजित कार्यक्रममा किरात राई यायोख्खा पथरी शनिश्चरे नगर समितिका कलाकार तथा छात्र छात्राहरुले सिली नाचेका थिए ।

प्रकृति पुजक किराँत राई समुदायले प्राचीन कालमा प्रयोग गरेका डोको, नाम्लो, ओखल, ढिकी, छपनी, चर्खा, हलो, कोदालो, चिचिण्डो, गुन्द्री लगायतका पौराणिक सामग्रीहरु प्रदर्शन गर्नुका साथै साँस्कृतिक परम्परा र रितिरिवाजहरूलाई नृत्य मार्फत् कलाकारहरुले हाउभाउ प्रस्तुत गरेका थिए ।
सो अवसरमा पथरीशनिश्चरे वडा नम्बर २ का वडा सदस्य चन्द्र कुमार राईले ‘यस विद्यालयले किराँत राई समुदायको मौलिक तथा साँस्कृतिक चाड पर्व तथा यसको महत्वलाई जगेर्ना गर्न र नानीबाबुहरूलाई यो संस्कृतिबारे जानकारी सहितको शिक्षा दिने’ उद्देश्यले कार्यक्रम आयोजना गरेकोमा प्रशंसा गर्नुभयो ।
सोही अवसरमा विद्यालयका प्रधानाध्यापक टिएन तिम्सिनाले किराँत राई यायोक्खा पथरीशनिश्चरे नगर समितिले आफ्ना पौराणिक सरसामान सहित किरात संस्कृति सम्वन्धी मौलिक परम्परा तथा प्रचलनहरूलाई नानीबाबुहरूको अगाडि प्रत्यक्ष रुपमा प्रस्तुत गरेर विशेष सहयोग पु¥याएको भन्नुभयो । उहाँले विद्यालयले संस्कार सहितको शिक्षा अवलम्बन गर्ने विद्यालयको कार्ययोजनाहरू अनुरूप जि.पि.एस. पाठ्यक्रम अन्तर्गत सो (साकेला सिली) कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

सम्बन्धित खवर