लेटाङ नगरपालिकाले टमाटर र चौपायाको कर हटाउने - Crazysaptahik.com

लेटाङ नगरपालिकाले टमाटर र चौपायाको कर हटाउने

क्रेजी साप्ताहिक
लेटाङ । मोरङको उत्तरी नगरपालिका लेटाङले आगामी आर्थिक वर्षदेखि टमाटर (गोलभेडा) र चौपायामा लगाउंदै आएको कर हटाउने भएको छ ।

आइतबार नगरपालिकाको सभाहलमा भएको कोरली प्राप्त गर्ने किसानहरुसंगको अन्तरक्रिया कार्यक्रममा आगामी आर्थिक वर्षदेखि टमाटर र चौपायामा लगाइदै आएको कर हटाईने नगर प्रमुख शंकर राईले बताउनुभयो । नगर प्रमुख राईले समृद्व लेटाङ सुखी लेटाङगेली बनाउने आफ्नो लक्ष्यलाई पूरा गर्न आगामी आर्थिक वर्षदेखि टमाटर (कृषि उपज) र चौपायामा लिइदै आएको कर हटाईने प्रतिवद्धता जाहेर गर्नुभयो । आर्थिक वर्ष २०७५/७६ को विनियोजित रकम मध्येबाट नगरपालिकाले किसानको समृद्धिका लागि भन्दै १० वटा समूहमा ५ जनाको दरले ३० लाख रुपैया विनियोजन गरेको थियो ।

उक्त रकमबाट स्थानीय समूहले पाडापाडी, वाछाबाछी, कोरली, बाख्राबाख्री लगायत खरिद गरी आर्थिक उन्नतितर्फ अग्रसर हुन टेवा पुगेको कार्यक्रममा बताए । कार्यक्रममा नगरपालिका उप–प्रमुख कृष्ण कुमारी निरौलाले लेटाङ उर्वर भूमि रहेको बताउंदै आगामी वर्षको वजेटमा कृषि र किसानका मागहरुलाई विषेश प्राथमिकतामा राखिने बताउनुभयो । कार्यक्रममा नगरपालिकाले उत्कृष्ट काम गर्ने ७ कृषकहरुलाई ७ वटा टोनेल र युवा व्यावसायी समूहलाई हाते ट्याकटर पनि प्रदान गरेको छ ।

सम्बन्धित खवर