क्रेजी साप्ताहिक
पथरी । एकीकृत सूचना प्रणाली (कोपोमिस) अभिमुखीकरण ३ दिने तालिम सम्पन्न भएको छ । सहकारी कर्मचारी संगठन पथरी शनिश्चरे इलाका समितिले आयोजना गरेको तालिम विहिवारदेखि शनिबारसम्म भएको थियो ।
पथरीशनिश्चरे नगरका ३४ सहकारीका ३४ कर्मचारीले सहभागिता जनाएको तालिमलाई कल्याण बजगाईले सहजीकरणको जिम्मेवारी वहन गरेका थिए । गरिबी निवारण तथा सहकारी मन्त्रालयले सबै सहकारीलाई ३ वर्ष भित्र एकीकृत सूचना प्रणाली (कोपोमिस)मा आउन आह्वान गरेको थियो । सरकारले वि.सं. २०७४ कार्तिकमा सहकारी ऐन सुरु भएदेखि नै कोपोमिसको प्रयोगमा जोड दिइएको हो । सहकारी ऐनका अनुसार ५ करोड भन्दा कम पुँजीका सहकारीले ३ वर्ष भित्रमा र ५ करोड भन्दा वढी पुँजी भएका सहकारीले १ वर्ष भित्रमा कोपोमिसको प्रयोग सुरु गरिसक्नुपर्ने बताइएको थियो ।
तालिम समापन कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव एकराज निरौलाले स्थानीय सहकारी ऐन पास भएको वा नभएको बारे जिज्ञासा राख्नुभएको थियो । सहकारीका लागि स्थायी कोष बनाउनु पर्ने बताउँदै उहाले नगरका सहकारीहरु एकीकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहांले थप्नुभयो ‘नगरका ६८ सहकारी एकीकरणका लागि पहल गर्न आवश्यक छ । ४१ बचत तथा ऋण एकीकरण गर्दा पुँजी १ अरब हुन्छ ।’
नगर प्रमुख दिलिप कुमार राईले स्थानीय तहको एकल अधिकारलाई संघीय सरकारले कुन्ठित पारेको दाबी गर्नुभयो ।
वडा नम्बर ७ का अध्यक्ष एवम् सामाजिक विकास समितिका संयोजक कपिलमणि ढकाल, जिल्ला सहकारी संघका योगराज पौडेल, सहभागीद्वय आरती सहकारीकी सुस्मा मगर, कन्तुर सहकारीका राजेन्द्र भट्टराई लगायतले बोलेका थिए । संगठनका अध्यक्ष गणेशकुमार बाछाना राईले कोपोमिस तालिम सहकारी संघ संगठनले आयोजना गरेको देशकै पहिलो कार्यक्रम गरिएको बताउनुभयो । कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र र अतिथिहरु आयोजकले मायाको चिनो वितरण गरिएको थियो ।