धनकुटाको एक विद्यालयमा छोटो र कसिलो लुगा लगाउन प्रतिबन्ध - Crazysaptahik.com

धनकुटाको एक विद्यालयमा छोटो र कसिलो लुगा लगाउन प्रतिबन्ध


क्रेजी साप्ताहिक । धनकुटाको एक विद्यालयमा छात्राहरुलाई छोटो र कसिलो लुगा लगाउन प्रतिबन्ध गरिएको छ । जिल्लाको भीरगाउँ–२ मा रहेको श्री टंक माविमा यस्तो नियम राखिएको छ । देशमा बढ्दो यौन हिँसा तथा बलात्कारका घट्ना हुन नदिन विद्यालयले यस्तो नियम राखेको बताइएको छ । यो नियम विद्यालयमा अध्ययनरत सबै कक्षाका छात्रामाथि लगाइएको छ । नर्सरीदेखि कक्षा–१ सम्म अङ्ग्रेजी माध्यममा अध्ययन अध्यापन हुँदै आएको विद्यालयमा कक्षा–१ देखि १० सम्मका छात्रालाई यस्तो व्यवस्था गरेको हो । ‘यसअघि छात्राका लागि सर्ट र फ्रक व्यवस्था हुँदै आएको थियो’, प्रधानाध्यापक नरबहादुर विश्वकर्मा भन्छन ‘फ्रक त जति छोट्याएपनि हुने, कसैले धेरै छोटो पारेर पनि लगाएको देखियो । यसले सबैमा मनोवैज्ञानिक असर देखियो ।’ अहिले विद्यालयले कुर्ता सुरुवाल लगाएर उपस्थित हुनुपर्ने भएको छ ।

विद्यालयमा अध्ययनरत् छात्राहरूले नै अशोभनीय किसिमले विद्यालय पोशाकलाई दुरुपयोग गर्ने क्रम बढेकोले सबै छात्राका लागि कुर्ता–सलवार लगाउन आग्रह गरेको सहायक प्रधानाध्यापक पुष्कर गुरागाईं बताउँछन् । ‘अब विद्यालय आउँदा मर्या्दित नखेदिने पोशाक नलगाउन भनेका छौं’ छात्राले कसिलो र छोटो कपडा लगाउन थालेपछि टिनएजर्स छात्र तथा शिक्षकहरूमै मनोवैज्ञानिक असर पर्ने आफूहरूले बुझेको प्रधानाध्यापक विश्वकर्मा बताउँछन् । पाँच सय भन्दा बढी विद्यार्थी अध्ययन गर्ने विद्यालयमा यस्तो नियम लगाएपछि अभिभावक पनि खुशी बनेको उनको भनाइ छ । तर विद्यालयको यो निर्णयले अहिले सामाजिक सञ्जाल तथा मिडियामा चर्चा पाएपछि कतिले सकारात्मक रुपमा लिएका छन भने कतिले संकुचित सोचको उपमा दिएका छन् ।

‘सबै अभिभावक पनि ठीक गर्नु भयो भन्दै राम्रो सन्देश दिनतर्फ लागेका छन्’, उनले दावी गरे, ‘यस्तो अभियान धनकुटामै पहिलो हो ।’ उनले कुर्ता–सलवार लगाउँदा खर्चको पनि बचत हुने हुनाले आर्थिक अवस्था कमजोर भएका अभिभावकका लागि झनै सहज बनेको बताए । हावाहुरी र वर्षाको समयमा पनि लगाउन सहज हुने, सजिलै लगाउन सकिने हुनाले पनि यस्तो नियम लगाइएको उनको भनाइ छ । विद्यालयमा ११ र १२ मा शिक्षा सङ्कायमा अध्ययन अध्यापन हुँदै आएको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रलाल तामाङ छात्रालाई फ्रकमा प्रतिबन्ध लगाएर अभिभावक, विद्यार्थी साथै शिक्षकलाई पनि सहज भएको बताउँछन् ।

सम्बन्धित खवर