क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरे नगर क्षेत्रमा पनि १ जनामा कोरोना भाइरस पुष्टी भएपछि नगरपालिका कार्यालयले नगरवासीलाई अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउन आव्हान गरेको छ ।
भारतको उत्तरप्रदेशबाट काठमाडौं हुँदै विहिबार घर आएका वडा नम्वर १ स्थित पथरी बजारका ४२ वर्षीय पुरुषमा कोरोना पुष्टी भएपछि नगरपालिकाले स्वास्थ्य सतर्कता अपनाउन आव्हान गरेको हो ।
भारतबाट जेठ २८ मा अरु नेपालीसँगै बसमा काठमाडौं आई टेकुको केन्द्रीय प्रयोगशालामा स्वाब दिएर उनी विहिबार अरुसँगको रिजर्व बसमा पथरी घर आएका थिए । शुक्रबार उनको रिपोर्ट पोजेटिभ आएपछि प्रयोगशालाले उनलाई खोजी गर्यो ।
यस क्रममा शुक्रबार उनलाई सुन्दरहरैंचास्थित गोठगाउँको कोभिड अस्पतालमा लगिएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाउनु भयो । तर उनको अवस्था सामान्य रहेको छ ।
उनीसँगै बसमा काठमाडौंबाट आएका पथरी शनिश्चरेका १ र उनीसँग कन्ट्याक हुन पुगेका नगरका १ जना सुरक्षाकर्मीलाई नगरपालिकाले खडा गरेको पथरी बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएको छ । संक्रमितले घरमा आएर पनि छुट्टै बसेको पाइएकाले बाबु आमालाई भनें होम क्वारेन्टिनमै राखिएको छ ।
आफ्नो नगरमा पनि कोरोनाको संक्रमित देखा पर्न थालेपछि नगर प्रमुख दिलीपकुमार राईले नगरवासीलाई कोरोनाको संक्रमणबाट बच्न अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउन आव्हान गर्दै आफुपनि बच्न र अरुलाई पनि बचाउन सवै लाग्नु पर्ने उल्लेख गर्नुभएको छ ।
कम्तीमा १ मिटरको सामाजिक दुरी कायम गरेर अति आवश्यक उपभोग्य वस्तुहरु खरिद गर्न परिवारको १ जना मात्र निस्कन उहाँले अनुरोध गर्नुभयो । पसले तथा कार्यालयका कर्मचारीले आफुले हातमा ग्लोब लगाई अनिवार्य रुपमा साबुनपानी र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, मास्क अनिवार्य लगाउनु पर्ने र कसैले कतै पनि भिडभाड गर्न नहुने कुरामा नगरवासीलाई सचेत रहन अनुरोध गर्नुभयो ।