क्रेजी साप्ताहिक
पथरी । सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति, सोही बीचमा नगरका प्रवक्ता यामप्रसाद गुरागाई र वडाध्यक्ष गोविन्द बहादुर भण्डारीको उपस्थिति, विस्तारै नगर प्रमुख दिलिप कुमार राई (किशोर), उपप्रमुख यमुना बिष्टको पनि आगमन, नगरका सूचना संयोजक भूपेन्द्र तिम्सिनाले सुरु गरे आर्थिक वर्ष ०७७/०७८ को नीति कार्यक्रम र बजेट सार्वजानिकिरणको पत्रकार सम्मेलन ।
विहिबार मोरङको पथरीशनिश्चरे नगरपालिकाले रोजगार सृजना गर्नका लागि नगरभित्रका नयाँ उद्योगलाई कर छुट दिने बताइएको छ । नगरको नयाँ नीति, कार्यक्रम तथा बजेटमार्फत कर छुट गर्ने घोषणा भएको हो ।
प्रस्तुत नीति तथा कार्यक्रममा २० भन्दा बढीलाई रोजगार दिने उद्योगलाई दुई वर्षसम्म स्थानीय कर छुट गर्ने उल्लेख छ । बुधबार प्रस्तुत बजेटबारे विहीबार पत्रकार सम्मेलन आयोजना गरी नगरपालिकाले यसको जानकारी दिएको हो ।
नगरपालिकाले कौसी तथा पुष्पलगायत बिषादीरहित कृषि उत्पादनमा जोड दिने, पाँच बेडको पथरी अस्पताललाई १५ बेडको बनाइने, नगरका सबै बिद्यालयलाई प्रविधिमैत्री बनाइने, कोरोना भाइरस महामारीका अवरुद्ध सिकाई प्रणालीलाई समयअनुकूल दुरशिक्षालगायत वैकल्पिक प्रविधि अपनाइने पनि बजेटमा उल्लेख छ ।
सातौ नगरसभामा उपप्रमुख यमुना बिष्ट बाँस्तोलाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटमा पथरी बजारमा व्यापारिक भवन निर्माण गर्न एक करोड, दमकल खरिद गर्न ७० लाख, पथरी बजारमा खुल्ला व्यायामशाला निर्माण गर्न १० लाख रकम समेत विनियोजन गरेको छ । भौतिक निर्माणमा दोहोलु शुक्रबारे र रजत जयन्ती सडक कालोपत्रेका लागि एक करोड २५ लाखको दरले रकम समेत छुट्याइएको छ ।
नयाँ बजेटमा पशुपंक्षी तथा मत्स्य विकास, कृषि तथा सहकारी, सामाजिक विकास, स्वास्थ्य, शिक्षा, युवा तथा खेलकुदलगायत अधिकांश पुरानै कार्यक्रम राखिएको छ । गत वर्षको तुलना बजेट आकार दुई करोड ६८ लाख २६ हजार ६० ले घटेको छ । आर्थिक वर्ष २०७५ र ०७६ मा ६८ करोड ८० लाख ४८ हजार ५६२ थियो। यस वर्ष वर्ष ६६ करोड १२ लाख २२ हजार ५०२ रुँपैयाको बजेट आएको हो ।
गत वर्ष वडामा एक करोड दरले सिलिङ बजेट वितरण गरिएको थियो । तर, यसपल्ट ७५ लाख मात्र विभाजन गरिएको छ । नगरमा १० वटा वडा रहेका छन् ।
आयतर्फ दुई करोडको आन्तरिक आम्दामीको लक्ष्य राखिएको छ । राजस्व बाँडफाँडबाट १२ करोड ९७ लाख ३७ हजार ७ सय ७०, संघीय सरकारबाट ४६ करोड ४९ लाख, प्रदेश सरकारबाट ९६ लाख ५५ हजार ८ सय ६६ प्रदेशको निर्वाचन विकास कार्यक्रमबाट २ करोड ५० लाख र वडा कार्यालय भवन निर्माणका लागि जिल्ला समन्वय समितिबाट १ करोड रकम प्राप्त गर्ने प्रस्तुत बजेटमा उल्लेख छ ।
नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट बाँस्तोलाको उपस्थितिमा नगरका प्रवक्ता यामप्रसाद गुरागाईंले विज्ञप्तिमार्फत् बजेट सार्वजनिक गरेका थिए । नगरप्रमुख राईले विकासका लागि पत्रकारहरुले निष्पक्ष रुपमा खबरदारी गर्न आव्हान गरे । पत्रकार सम्मेलनमा वडा नं. ४ का वडाध्यक्ष गोविन्द बहादुर भण्डारी, ३ का वडाध्यक्ष डम्बर चेम्जोङ, ६ का वडाध्यक्ष जय बहादुर तामाङ र स्वास्थ्य संयोजक मुरारी आचार्यको पनि उपस्थिति रहेको थियो ।