
क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नम्बर–१ को दुई वटा विद्यलयमा चाम्लिङ भाषाको पठन पाठन गर्न माग भएको छ ।
किरात राई समुदायको साझा संस्था किरात राई यायोक्खा पथरी शनिश्चरे नगर समितिले बिहिबार (असर ११) विद्यालय पुगेर सो माग गरेको हो । पथरी बजारमा चाम्लिङ राई समुदायको बाहुल्यता रहेको छ ।
पथरीको पञ्चायत माविका प्रधानाध्यापक अर्जुन बुढाथोकी, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष आइतकुमारी तुम्बापो, पथरीकै सुनाखरी माविको अध्यक्ष प्रदिपकुमार राई, प्रधानाध्यापक केशब शर्मा र नगरको शिक्षा बिभाग प्रमुख उपसचिव रालिग्राम काफ्लेलाई भेटेर मातृभाषा पठनपाठनको लागि प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको हो ।
नेपाल सरकारकै लगानीमा पाठ्यक्रम बिकास केन्द्रले १० बर्ष अघिदेखि चाम्लिङ भाषाको पाठ्यक्रम निर्माण गरि पुस्तक प्रकाशन गर्दै आएको छ । चाम्लिङ भाषा खोटाङ र उदयपुरमा १९ वटा विद्यालयमा कक्षा ५ सम्म पठनपाठन हुँदै आएको छ ।
पथरीको दुई वटा बिधालयमा मातृ भाषा पठनपाठनको लागि यायोक्खा केन्द्रीय सचिव अर्जुन जम्नेली राई, मोरङ जिल्ला अध्यक्ष नरहाङ राई, नगर अध्यक्ष प्रेमकुमार राई, कोषाध्यक्ष रामबहादुर राई, पथरी गाबिस पूर्व अध्यक्ष तिलक वान्तावा राई, किरात राई विध्यार्थी संघकी नेतृ निता कुलुङ राई, प्रेम चाम्लिङ, घनश्याम राई लगायतका टोलिले मातृभाषा पठनपाठनको लागि बिधालय पुगेका हुन ।
संघीय गणतन्त्र स्थापनापछी बिधालय तहको पाठ्यक्रम स्थानीय सरकारले निर्माण गर्ने र कक्षा १– ५ सम्म १०० पूर्णाङ्कको मातृ भाषामा पठनपाठन गर्नुपर्ने नीति रहेको छ । पथरी शनिश्चरे नगरको भागिरथ माबिमा कक्षा १ र चन्द्र किरातेस्वर माबिमा कक्षा ६ सम्म लिम्बु भाषाको पढाइ हुँदै आएको छ ।

संघीयता कार्यन्वयन हुँदैजाँदा इलामको माङ्सेबुङ गाउँपालिकाको ५ नम्बर वडामा लिम्बु भाषामा सरकारी कामकाजको रुपमा प्रयोग हुँदै आएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले यस बर्षदेखि राई समुदायले प्रयोग गर्ने चाम्लिङ भाषालाई कामकाजको भाषाको रुपमा प्रयोग गर्ने भएका छन ।
हलेसी तुवाचुङको भर्खरे नगरसभाले पास गरेको आर्थिक बर्ष २०७७र०७८ को नीति तथा कार्यक्रममा नगरको वडा नं. १, २ मा वम्बुले(राई) भाषा र ३ मा तिलुङ(राई) भाषालाई मान्यता दिने निर्णय भएको उल्लेख छ ।

